१६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता कार्तिक २८ देखि २ मंसिरसम्म
काठमाडौँ, २६ कार्तिक । नेपाल हस्तकला महासङ्घले नेपाली उत्पादन तथा सामाग्रीहरुबाट बनेका र बनाईएका लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्ने उद्देश्यले यही कात्तिक २८ देखि मङ्सिर २ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १६औँ अन्तर्राष्ट्रिय हस्तकला व्यापार मेला तथा १४औँ हस्तकला प्रतियोगिता गर्ने भएको छ ।
महासङ्घले राजधानीमा सोमबार पत्रकार सम्मेलन गर्दै नेपाली उत्पादन तथा सामाग्रीहरुबाट बनेका र बनाईएका धातुकला, सुनचाँदी, ऊनी तथा सुती, ढकाका सामान, पस्मिना, हाते कागज, छालाजन्य सामग्री, प्रकृति रेशा र बाँसका सामान, जडीबुटीलगायतका वस्तुहरु मेलामा प्रर्दशन गरिने जानकारी दिएको छ । स्वदेशी व्यवसायीले १५० बिक्री कक्ष तथा भारत, चीन, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भूटानका हस्तकला उद्यमीले २० वटा बिक्री कक्षमार्फत (स्टल) आ–आफ्ना उत्पादन प्रदर्शन तथा बिक्री गर्ने जनाएको छ ।
प्रदर्शनीमा मौलिक कलालाई विकसित गर्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय कला र प्रविधिको प्रयोग र अनुसन्धानका साथै हस्तकलाका विभिन्न आयाम र सिर्जनासम्बन्धी विचार विमर्श समेत हुने महासंघले जनाएको छ । यस किसिमका मेला तथा प्रतियोगीताबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान गरिनेछ ।
महासङ्घका अध्यक्ष धर्मराज शाक्यले हस्तकला क्षेत्रमा संलग्न स्वदेशी तथा विदेशी कालिगड सिप र क्षमता आदानप्रदान हनुका साथै हस्तकाला क्षेत्रको समस्या र सम्भावनाबारे छलफल तथा उनीहरुलाई पेशाप्रति उत्प्रेरित गरी नयाँ पुस्तालाई हस्तकला क्षेत्रप्रति आकर्षित गर्न र लोपोन्मुख कलाकृतिहरुको जगेर्ना गर्नु नै मेलाको मुख्य उद्देश्य भएको बताए । उनले उद्यमी, कलाकार, कालिगढहरुबाट उत्पादित नेपाली हस्तकलाका वस्तुहरुको स्थानीय र अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनमा सहयोग पु¥याउने, नयाँ नयाँ निर्यात वस्तु उत्पादन गर्न उद्यमीहरुलाई प्रोत्साहित गर्ने, अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रंग संयोजनका बारेमा उद्यमी व्यवसायीहरुमा जानकारी आदान प्रदान गर्ने स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाईन र ज्ञानको आदानप्रदान गर्न यस मेलाले थप सहायोग पुग्ने बताए ।
महासंघको उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख होमनाथ उपाध्यायले नेपाली कलाको आफ्नै मौलिक कला संस्कृति भएकाले यसलाई भावि पुस्तालाई हस्तान्तरण तथा उत्प्ररित गर्न यस मेला तथा प्रतियोगिताले थप सहयोग पुर्याउने बताए । उनले नेपाली हस्तकालाका सामान निर्यात गर्न कानून प्रयाप्त नभएको कुरा औल्याए ।
त्यसैगरी १४औँ हस्तकला प्रतियोगितामा परम्परागत विधातर्फ ‘मैनको मूर्ति’ र ‘ढाका बुनाइ’ समावेश गरिएको छ । प्रतियोगितामा संलग्न कलाकार तथा कालिगडले जीवन्त प्रदर्शनी गर्ने कार्यक्रम छ । उक्त प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः ५०, ३० र २० हजार नगद तथा प्रमाणपत्र वितरण गरिने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मेलामा झण्डै २ लाख आगन्तुक आउने अनुमान गरिएको छ । जसमध्ये २० हजार आगन्तुकको लागि निशुल्क प्रवेश पास वितण गरिने छ । निशुल्क पासको लागि लालितपुरमा पाटन दरबार स्क्वार पाटन संग्राहलय, काठमाडौंमा नेपाल हस्तकला महासंघको कार्यालय र नेपाल पर्यटन बोर्डबाट संकलन गर्न सकिने व्यवस्था मिलाइएको छ । मेला अवधिमा स्टलमा हुने प्रत्यक्ष कारोवार र व्यवसायिक अर्डर समेत गरी झण्डै रु. १० करोड भन्दा बढिको कारोवार हुने आयोजकको अपेक्षा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्