उज्यालो युगका अभियन्ता कुलमानः कसरी अन्य गरे उनले नेपालबाट लोडसेडिङ ?
काठमाडौँ, २१ कात्तिक । मनको अन्तरकुनामा कुलमान घिसिङले एउटा लक्ष्य पालेका थिए– नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुन पाए देशमा विद्यमान लोडसेडिङ अन्त्य गर्छु ।
पावर सिस्टम इन्जिनियरिङमा मास्टर्स गर्दा ‘इन्टिग्रेटेड रिसोर्स प्लानिङ विथ डिमान्ड साइड म्यानेजमेन्ट’ विषयमै शोध गरेका घिसिङसँग लोडसेडिङ अन्त्य गर्ने प्राविधिक सुझबुझसमेत थियो । उनले सूत्रसमेत मनमनै पहिल्याएका थिए। तर, आफू प्राधिकरणको कार्यकारी प्रमुख नभएसम्म उनी लोडसेडिङ अन्त्य गर्ने आफ्ना सूत्रहरू कार्यान्वयनमा लान सक्ने अवस्थामा थिएनन् । त्यसैले सार्वजनिक पनि गरेनन् ।
०५१ मा घिसिङ सातौँ तहको इन्जिनियर पदबाट प्राधिकरणको सेवा प्रवेश गर्दा देशमा रोग, भोक र शोक अन्त्य गर्ने भन्दै माओवादीले सशस्त्र राजनीतिक द्वन्द्व सुरु गरेको थियो । तर, त्यही द्वन्द्वका कारण देशमा दशकसम्म आर्थिक गतिविधि ठप्पप्रायः हुन गयो। तर, विद्युत् उत्पादनको शताब्दीसम्म पनि देशको माग धान्न सक्ने गरी देशमा विद्युत् उत्पादन हुन सकेन । माग बढ्दै गयो, विद्युत् उत्पादन बढेन । यसले जडित वितरण प्रणालीमै पनि विद्युत् आपूर्ति पर्याप्त हुन सकेन भने विद्युतीकरण गर्नुपर्ने क्षेत्र र धेरैजसो ठाउँहरू विद्युत्सेवाविहीन बनिरहेका थिए ।
अवस्था यतिसम्म नाजुक बन्यो कि दिनको १८ घन्टासम्म पनि विद्युत् कटौती हुन थाल्यो । इन्भर्टर, ब्याट्री, पावर जेनेरेटर मेसिनजस्ता उपकरणका उत्पादक र वितरकको व्यापार फस्टाउन थाल्यो । यो खबर आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले लेखेका छन्। घिसिङ अहिले झल्झली सम्झन्छन्, लोडसेडिङको तालिका अगाडि राखेर वितरण केन्द्रमा बस्ने दुई तहका कर्मचारीले विद्युत् काट्थे।
बलिरहेको बिजुली झ्याप्प जाँदा गाउँ–बस्ती र जगतै अन्धकारमा डुब्थ्यो । कतिपय गाउँबस्ती र सहरका सर्वसाधारण आक्रोशले चिच्याउँथे । अनि, मैनबत्ती र टुकीको पिलपिल उज्यालो चिर्दै बस्ती नै उज्यालो हुने गरी बिजुली झुलुक्क आउँदा पनि सर्वसाधारण खुसीले चिच्याउँथे । प्राधिकरणको वितरण केन्द्रमा बसेर विद्युत् काट्ने कर्मचारीलाई सर्वसाधारणको आक्रोश र खुसीसँग के वास्ता? ऊ त आफ्नो ‘ड्युटी’ पूरा गरिरहेको हुन्थ्यो ।
यसरी विद्युत् काट्दा रातमा झन्डै दुई सय मेगावाटसम्म पनि विद्युत् बचत हुन्थ्यो । घरायसी उपभोक्ताका लागि विद्युत् कटौती गर्दा कतिपय औद्योगिक प्रतिष्ठानले चौबिसै घन्टा बिजुली पाउँथे । भारप्रेषण केन्द्रले दिएको लोडसेडिङ तालिकालाई प्राधिकरणका कार्यकारी निर्देशकले सहीछाप गरेर लोडसेडिङलाई अनुमोदन गर्ने प्रवृत्ति हाबी हुँदै गयो । लोडसेडिङ अन्त्य गर्नु असम्भव मानियो । प्राधिकरणले नै ०७३ सम्म विद्युत् माग बढेर १८ सय मेगावाटसम्म पुग्ने भविष्यवाणी ग¥यो । यद्यपि, अहिले लोडसेडिङ नहुँदाको उच्च माग १३ सय मेगावाटभित्रै सीमित छ ।
घिसिङ झन्डै दुई वर्षसम्म घिसिङ जिम्मेवारीविहीन बनाइए । यसमा उनकै असन्तुष्टि पनि केही हदसम्म जिम्मेवार नभएको भने होइन । अन्ततः सही मानिसले सही पद र जिम्मेवारी पाए । ०७३ भदौमा घिसिङ प्राधिकरणको ११ तहको कार्यकारी निर्देशक पदमा नियुक्त भए ।
०७३ को त्यो लक्ष्मी पूजा
प्राधिकरणकै कार्यकारी प्रमुख बनेपछि घिसिङको काँधमा पहिल्यैदेमि मनमा पालेको लोडसेडिङ अन्त्य जिम्मेवारी आयो । राजनीतिक रूपमा उनलाई माथिबाट ऊर्जामन्त्री जनार्दन शर्माको जबर्जस्त सहयोग थियो भने प्रशासनिक रूपमा ऊर्जा सचिव अनुप उपाध्यायले सहयोग गरेका थिए ।
आफू मातहतको उपयुक्त टिम, प्रसारण र वितरण प्रणाली र उपयुक्त दिनको खोजीमा लागे । ०७२ को फागुन (हिउँद) सम्म देशमा झण्डै १६ घण्टा लोडसेडिङ थियो । बर्खामा लोडसेडिङ कम हुन्थ्यो । फेरि तिहार(हिउँद) को लक्ष्मी पूजाको दिन सबैले घरमा दीपावली गर्ने भएकोले विद्युत् माग उच्च हुन्थ्यो । घिसिङले लोडसेडिङ अन्त्य गर्ने उपयुक्त दिनको रूपमा लक्ष्मी पूजालाई नै रोजे । यसको तयारी दशैंदेखि नै उनले सुरु गरेका थिए ।
०७३ को लक्ष्मी पुजाको दिन अर्थात् १४ कात्तिकमा घिसिङ आफ्नो टोलीसहित स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बेलुका ५ बजे नै पुगे । काठमाडौंलाई लोडसेडिङ गर्न नदिँदा कुन प्रसारण तथा वितरण लाइनमा कति लोडमा चलाउने, कहाँ–कहाँबाट विद्युत् छोड्ने भनेर छलफल गरे ।
त्यसैअनुसार टोलिलाई ‘मुभ’ गरे । राती १२ बजेसम्म त्यहाँ बसेर प्राविधिक सूझका साथ व्यवस्थापन मिलाउँदा काठमाडौं उपत्यकामा लक्ष्मी पूजाको रातभर विद्युत् गएन । ‘नो लाइट’ नम्बरहरूमा कतैबाट पनि काठमाडौंका उपभोक्ताको गुनासो आएन ।
काठमाडौं लोडसेडिङ मुक्त भएको सन्देश उनले दिए । यसरी कार्यकारी निर्देशकको पदमा पुगेको दुई महिनापछि नै कसैले कल्पनै नगरेको लोडसेडिङ मुक्त गर्ने अभियान घिसिङले सुरुआत गरे, काठमाडौंबाट । लक्ष्मीपूजा विजुली बत्ति झिलिमिली पारेर मनाए उपत्यकावासीले।
काठमाडौं उपत्यकामा विद्युत् कटौति गर्न छोडेपछि उपत्यकाको उच्च माग २ सय मेगावाटसम्म कम भयो । इन्भर्टर तथा व्याट्रिलगायत उपकरण चार्ज गर्दा हुने झण्डै २ सय मेगावाट विद्युत्को माग स्वाट्टै घट्यो । विद्युत् कटौती हुँदैन भन्ने सन्देश उपभोक्ताले पाए । प्राधिकरणको निर्देशन अनुसार नै साँझ विहान विद्युतको उच्च माग हुने समयमा बढी विद्युत् खपत गर्ने उपकरण चलाउन कम गरे । प्राधिकरणलाई सघाए । र, प्राविधिकको आत्मविश्वास समेत बढ्दै गयो ।
प्राधिकरणले पोखरा, भरतपुरजस्ता ठूला शहरको विद्युत् कटौती हटाउँदै गएर देशभरको घरायसी लोडसेडिङ अन्त्य गर्न सफल भयो । त्यसपछि पनि दैनिक करिब ४ घण्टा औद्योगिक लोडसेडिङ भने कायम थियो । तर, ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइन बनेपछि लोडसेडिङ अन्त्यका लागि सहयोग पुग्यो ।
अँध्यारो युगको अन्त्य
देशबाट अँध्यारो युगको अन्त्य भएको छ । तिहारको दीपावली देशैभर विजुली बत्तीको झिलिमिलिमा मनाउन सकिने भएको छ । घिसिङले भने तेस्रो लक्ष्मी पूजा (बुधबार) को दीपावली पनि स्युचाटारमै बसेर लोड व्यवस्थापन गरेर मनाउँदै छन् । देशभर लोडसेडिङ अन्त्य भएको सन्देश दिँदै यस वर्षबाट प्राधिकरणको केन्द्रीय कार्यालयमा समेत रंगीचंगी बत्ती बालेर झिलिमिली पारेका छन् ।
कुलमानलाई जनमनको सलाम
लोडसेडिङ अन्त्य गरेरपछि कार्यकारी निर्देशक घिसिङप्रति आम नेपाली निकै कृतज्ञ देखिएका छन् । घिसिङ सम्झन्छन्, ‘एक पटक सुन्दरीजलमा कार्यक्रम थियो । त्यहाँ जाँदा स्थानीयले बाजागाजासहित सम्मान गरे । तर आफूलाई अप्ठ्यारो महसुस भयो । आफ्नो जन्म गाउँ दोलखाको बिगु जाँदा स्थानीयले अभिनन्दन गरे । अस्वीकार गर्दा गर्दै पर्नि देशका विभिन्न ठाउँबाट नागरिक अभिनन्दनका प्रस्तावहरू आए ।’
पूर्वपश्चिम राजमार्गस्थित हेटौंडाको थानाभ¥याङ भन्ने ठाउँमा कुलमानको फोटोसहित होर्डिङ राखेर नागरिकले उनको कामको अभिनन्दन गरेका थिए । यी सबबाट कुलमानलाई लागेको छ– कार्यकारी प्रमुखको पदमा रहेने व्यक्तिलाई सैद्धान्तिक ज्ञानले मात्र नपुग्ने रहेछ । कार्यकारी प्रमुख वा व्यवस्थापकमा त व्यवस्थापन गर्न सक्ने प्राविधिक ज्ञानसमेत चाहिने रहेछ । अनि मात्र सफल हुन सक्दो रहेछ ।
०७३ को लक्ष्मीपूजाको दिन अर्थात् १४ कात्तिक, उपत्यकावासीले अचानक बिजुलीको झिलिमिलीमा लक्ष्मीपूजा गर्न पाए । उपत्यकावासीले बिजुलीको झिलिमिलीमा घरघरमा लक्ष्मी भित्र्याउँदै गर्दा प्राधिकरणमा भर्खरै कार्यकारी निर्देशक भएका कुलमान घिसिङ भने स्युचाटारस्थित भार प्रेषण केन्द्रमा बसेर विद्युत्को लोड व्यवस्थापन गर्दै थिए ।
बेलुका ५ बजेदेखि राति १२ बजेसम्म प्राविधिक टोलीसहित स्युचाटारमा खटिएका कुलमानले भोलिपल्ट उपत्यकावासीको वाहवाही पाए । उज्यालो युगको प्रस्थान बिन्दु, त्यही दिन बन्यो ।
प्रतिक्रिया दिनुहोस्