विश्व बैंकले भन्यो – नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक छैन ‘

काठमाडौं, कात्तिक १५ ।विश्व बैंकले नेपाल विकाससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालको लगानी वृद्धि र आर्थिक वृद्धिको अनुपात सन्तोषजनक नरहेको जनाएको छ ।
बिहीबार प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै विश्व बैंकका नेपाल निर्देशक चिमाओ फ्यानले स्थिर सरकार भए पनि सोचे अनुसारको लगानी मैत्री वातावरण बन्न नसकेको बताउनुभएको हो । उहाँले राजनीतिक अस्थिरता समाप्त पारी पूर्वाधार निर्माण गर्दै निजी क्षेत्रसँग साझेदारी गर्नका लागि नीतिगत सुधारमा ध्यान दिन सुझाव दिनुभयो ।
कार्यक्रममा अर्थमन्त्री युवराज खतिवडाले ६० प्रतिशत भन्दा बढी लगानी निजी क्षेत्रबाट भएकाले सरकार निजी क्षेत्रसँग हातेमालो गर्न सधैँ तयार रहेको स्पष्ट पार्नुभयो ।
निजी क्षेत्रलाई आकर्षित गर्नका लागि नीतिगत सुधार गर्नुको साथै व्यावसायिक वातावरण बनाउनका लागि सरकार प्रतिवद्ध रहेको बताउनुभयो । विकास र लगानीका विषयमा प्रतिवेदनमा उल्लेखित तथ्याङ्क केही तल माथि देखिए पनि श्रमिकको उत्तरदायित्वको साथै बजार नियन्त्रण लगायतका विषय सरकारले नै हेर्नुपर्ने भएकाले केही समय लागेको तर्क गर्नुभयो ।
उहाँले निजी क्षेत्रले उठाउदै आएका करका विषयलाई पुनर्विचार गर्न तयार रहेको उल्लेख गर्दै सामाजिक उत्तरदायित्व वहन गरी पारदर्शी हुन निजी क्षेत्रलाई सुझाव दिनुभयो ।
प्रतिवेदनमा विश्व व्यापार गर्न सहज १९० देशहरुको सूचीमा नेपाल १ सय ५ औ स्थानमा परेको उल्लेख छ ।
प्रतिक्रिया दिनुहोस्