दशैँमा १३ अरबको नयाँ नोट साँटिने नेपाल राष्ट्र बैंकको अनुमान

काठमाडौं । नेपाल राष्ट्र बैंकले यो वडा दशैँमा झण्डै १३ अरबको नयाँ नोट साटिने अनुमान गरेको छ । आइतबारबाट नयाँ नोट सटही सुरु भएको छ ।
यो बडा दशैँमा ५ देखि एक सय सम्मका नयाँ नोटका लागि १३ अरबको सटही हुने राष्ट्र बैंकले अनुमान गरेको हो । साथै ५ सय र एक हजारका गरी ५८ अरब रुपैयाको नया नोट बैंकहरु मार्फत पेमेन्ट हुने अनुमान पनि गरिएको छ ।
सर्वसाधारणलाई नयाँ नोट साट्न सहज होस् भन्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका कार्यालयहरु तथा सरकारी स्वामित्वका नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकका शाखा कार्यालयबाट समेत नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
मुद्रा व्यवस्थापन विभागका प्रमुख एवं कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले पोहोर सालजस्तै यस वर्ष पनि नोट सटहीको व्यवस्था गरिएको जानकारी दिए । ५, १०, २०, ५० दरका दुई–दुई पाकेट र १०० दरको एक पाकेट गरी प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँ साटन पाउने भएको छ ।
राष्ट्र बैंकले विगतमा जस्तै उपत्यकाभित्र र बाहिर गरी २९ गतेसम्मका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ ।
नेपाल बैंक लिमिटेड, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंकका २१ शाखा कार्यालयबाट सर्बसाधारणले नयाँ नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
दशैँमा संवैधानिक निकाय, सरकारी कार्यालय, संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य संघ–संस्था लगायत कार्यालयलाई सम्बन्धित संस्थाको पत्रको आधारमा नयाँ नोट साटने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया दिनुहोस्