वोमी माइक्रोफाइनान्सले २५ % लाभांश प्रस्ताव गर्दै बोलायो वार्षिक साधारण सभा

जागरण न्युज
काठमाडौं, असोज १४ । वोमी माइक्रोफाइनान्सको सातौ वार्षिक साधारण सभा कात्तिक १७ गते हुने भएको छ । सभामा वोमीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ । कम्पनीले २ करोड ५२ लाख ७५ हजार रुपैयाँ नगद लाभांशमा दिन लागेको हो । माइक्रोफाइनान्सले कार्यक्षेत्र विस्तार गरी राष्ट्रिय स्तरको कम्पनी बनाउने योजना अघि सार्ने र यसका लागि आवश्यकता अनुसार नियमावली संशोधन गर्ने एजेन्डा समेत राखिनेछ ।
माइक्रोफाइनान्सको सभा पुल्चोक नारायणघाट, स्थित जेसीज भवनको सभा हलमा दिउसो १.३० बजे सुरु हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा राखिनेछ । साधारण सभा गर्न माइक्रोफाइनान्सले कत्तिक ४ देखि कात्तिक १७ गतेसम्म बुक क्लोज गर्ने भएको छ । लाभांश कात्तिक ३ गतेसम्म कायम सेयरधनीले मात्र पाउने छन् ।
हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी १० करोड १० लाख ८८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासमा वोमीले ३ करोड ९५ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

प्रतिक्रिया दिनुहोस्