बीओकेको संस्थापक सेयरको लिलामी खुल्यो

काठमाडौं । बैंक अफ काठमान्डुले शुक्रबारदेखि ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर सर्वसाधारणहरुलाई लिलाम बढाबढमा विक्री खोलेको छ । लिलामी सेयरमा मंसिर २९ गतेसम्म मात्र आवेदन दिन पाइनेछ ।

बैंकले बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेपनि प्रिमियम मूल्य नराखी एक सय रुपैयाँ फेस भ्यालुमा बोलकबोलमा बिक्री गर्न निर्देशन दिएपछि सोही अनुसार लिलामीमा ल्याएको हो ।

बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ः४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।

लगानीकर्ताले अब प्रतिकित्ता न्यूनतम १०० रुपैयाँ वा सोभन्दा बढी मूल्यमा लिलामी भर्नुपर्नेछ । बीओकेको लिलामीमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल तथा बैंक अफ काठमान्डूको केन्द्रीय कार्यालय कमलपोखरी र यसका अधिकांश शाखा कार्यालयहरुबाट आवेदन दिन पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि भने बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार सात सय रुपैयाँ पुग्नेछ । राष्ट्र बैंकको निर्देशन अनुसार बैंकले एफपीओ विक्री तथा गत आर्थिक बर्षको बोनस सेयरबाट आठ अर्ब रुपैयाँ चुक्ता पूँजी कायम गर्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्