मिर्मिरे लघुवित्तको सेयर लिलामी भर्ने आज अन्तिम दिन

जागरण न्युज

काठमाडौं, ४ असोज । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको सेयर लिलामी भर्ने बिहीबार (असोज ४ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले भदौ २६ गतेदेखि सर्वसाधारण समूहको ९ हजार ७५३ कित्ता सेयर लिलामीमा ल्याएको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
लघुवित्तले गत असार २७ देखि साउन २९ गतेसम्म ४ लाख ५० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । जसमा ३ हजार ६३७ जना सेयरधनीले ४ लाख ४० हजार २४७ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी रहेको ९ हजार ७५३ कित्ता सेयर लघुवित्तले लिलामीमा लेराएको हो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट पनि बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यालय बनेपाबाट पनि आवेदन दिन सकिनेछ ।

लिलामी बिक्री पछि मिर्मिरेको चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुग्नेछ । यस्तै, कम्पनीले गत आर्थिक वर्षको कमाइबाट २४ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ । २४ प्रतिशत बोनसपछि मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्नेछ । यो बोनस सेयर हकप्रद र लिलामी भर्नेले पनि पाउनेछन्

प्रतिक्रिया दिनुहोस्