सेन्ट्रल फाइनान्स लिमिटेडको संस्थापक सेयर बिहीबारदेखि लिलामीमा आउँदै

जागरण न्युज
काठमाडौं, ०२ असोज । सेन्ट्रल फाइनान्सले बिहीबार (असोज ४ गते) देखि ४ लाख ५६ हजार ३०८।७२५ कित्ता संस्थापक सेयर लिलामी खुला गर्ने भएको छ ।
फाइनान्सले यसअघि २ पटकसम्म खुला गर्दा पनि शेयर नबिकेपछि बिहीबारदेखि फेरि तेस्रोपटक लिलामी खुला गर्न लागेको हो । फाइनान्सले ४ लाख ५६ हजार ३०८।७२५ कित्ता संस्थापक सेयर लिलामी गर्ने भएको हो । यस लिलामीमा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् ।
लिलमीमा असोज १२ गतेसम्म आवेदन दिन पाइनेछ । गत वैशाख २० गतेदेखि २७ गतेसम्म पहिलोपटक संस्थापक समूहको ९ लाख ८१ हजार ७०८।७२५ कित्ता र सर्वसाधारण समूहको १ लाख ४ हजार २३०।३५ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।
त्यस समयमा सर्वसाधारण समूहमा मात्र आवेदन परेपछि कम्पनीले पुनः जेठ १४ गतेदेखि २१ गतेसम्म सर्वसाधारण लगानीकर्ताले समेत भर्न पाउने गरी दोस्रोपटक पनि लिलामीमा ल्यायो । तर त्यसबेला पनि सबै सेयर बिक्री नभएपछि सेन्ट्रलले पुनः तेस्रो पटक सेयर लिलामीमा लेराएको हो ।
लिलामीमा प्रतिकित्ता न्यूनतम रु.१०० रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा यसका लालदरबार, लगनखेल, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम भर्न र बुझाउन सकिनेछ ।

यसैगरी, सेन्ट्रल फाइनान्सको केन्द्रीय कार्यालय कुपण्डोल ललितपुर तथा नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखाबाट पनि लिलामी भर्न पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्