रिडी हाइड्रोपावरले १००% हकप्रद दिने, बोनस पारित गर्न डाक्यो साधारण सभा

जागरण न्युज
काठमाडौं, ३१ भाद्र । रिडी हाइड्रोपावर कम्पनीले सेयरधनीलाई शतप्रतिशत हकप्रद दिने भएको छ । कम्पनीले आगामी असोज २० गते आह्वान गरेको साधारण सभामा शतप्रतिशत हकप्रद जारी गर्ने र बोनस पारित गर्ने मुख्य एजेण्डा रहेको छ ।
कम्पनीले असोज २० गते इन्द्रणी ब्याङ्कवेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ः०० बजे साधारण सभा डाकेको छ ।
हाइड्रोपावरको भाद्र २६ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले आ.ब २०७४÷७५ मा आर्जन गरेको खुद नाफा तथा सञ्चित जगेडा कोषबाट सेयरधनीलाई ६ प्रतिशत बोनस र बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि ०.३१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । यस आधारमा असोज ४ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र प्रस्तावित ६ प्रतिशत बोनस सेयर पाउने छन् ।
कम्पनीले चुक्ता पूँजी बढाउन साधारण सभामा गत आर्थिक वर्षको बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पूँजीको एक बराबर एक अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव रहेको छ ।
गत आर्थिक बर्षको चौथो त्रैमासिक प्रतिवेदन अनुसार कम्पनीको चुक्ता पूँजी ५० करोड १० लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले प्रस्ताव गरेको तीन करोड ६३ हजार ३०६ रुपैयाँ बोनस पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ११ लाख १८ हजार रुपैयाँ पुग्नेछ । प्रस्तावित हकप्रद जारी गर्दा कम्पनीको चुक्ता पूँजी एक अर्ब ६ करोड २२ लाख ३६ हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्