निर्मला हत्या प्रकरण: दुई डिएसपीसहित पाँच प्रहरी अधिकारी पनि निलम्बित

काठमाडौं, ३१ भदौ। गृह मन्त्रालयले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना अनुसन्धानमा संलग्न थप पाँच प्रहरी अधिकारीलाई निलम्बन गरेको छ ।
घटनाको अनुसन्धानमा लापरबाही भएको भन्दै सरकारको आलोचना भइरहेका बेला गृह मन्त्रालयले थप ५ प्रहरी निलम्बन गरेको हो ।
घटनाबारे छानबिन गर्न गठित सहसचिव हरिप्रसाद मैनाली संयोजक रहेको उच्चस्तरीय छानबिन समितिले बुझाएको प्रारम्भिक प्रतिवेदनले अनुसन्धान त्रुटिपूर्ण रहेको ठहर गरेलगत्तै मन्त्रालयले प्रहरी अधिकारीलाई निलम्बन गरेको हो ।
गृह मन्त्रालयले हिजो राति विज्ञप्ति जारी गर्दै अनुसन्धानमा त्रुटि गर्ने प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेठी र केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएका प्रहरी नायव उपरीक्षक अंगुर जीसी, प्रहरी निरीक्षक जगदिश भट्ट र एकेन्द्र खड्का तथा प्रहरी सहायक निरीक्षक रामसिंह धामीलाई निलम्बन गरिएको जनाएको छ ।
गृहले यसअघि नै प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिसकेको छ
प्रतिवेदनमा बालिका हत्यापछि गर्नुपर्ने जिम्मेवारी पूरा नगरेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन सिफारिस गरिएको छ ।
गृह मन्त्रालयले घटनाको गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र यसमा संलग्न जोकोही भए पनि कानुनी दायरामा ल्याएर कारबाही गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्