राष्ट्रिय बीमा कम्पनीका सेयरधनीलाई झट्का, १२० प्रतिशत बोनस प्रस्ताव स्थगित

जागरण न्युज
काठमाडौं, २७ भाद्र । राष्ट्रिय बीमा कम्पनीले लगानीकर्ताहरुलाई अर्को झट्का दिएको छ ।
अहिले बीमा कम्पनीले साधारण सभा बोलाएपछि १२० प्रतिशत बोनसमा लहलहैमा लाग्नेहरु जिल खाएका छन् ।
कम्पनीले यहि असोज १९ गते बक्यौता ५ आर्थिक वर्षको साधारण सभा आह्वान गरी नियमित कृयाकलापका प्रस्तावहरु मात्र राखेर साधारण सभा बोलाएको हो । साधारण सभामा लाभांश सम्बन्धि कुनै प्रस्ताव गरिएको छैन । साधारण सभा यहि असोज १९ गते कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा बिहान ११ बजेका बोलाएको छ ।
यस अघि प्रस्ताव गरिएको १२० प्रतिशत बोनस भने बीमा समितिको अंकुशका कारण अर्को साधारण सभासम्मका लागि स्थगित भएको छ ।
राष्ट्रिय बीमा कम्पनीले २०५१ सालदेखि २०७१ सालसम्म बीमा संस्थानका रुपमा रहँदाको कयौं हिसाबकिताब अझै मिलाउन नसकेका कारण १२० प्रतिशत बोनस वितरण गर्ने प्रस्तावलाई स्थगित गर्दै साधारण बोलाएको हो ।
कम्पनीले आर्थिक वर्ष २०६३/६४, २०६४/६५, २०६५/६६, २०६६/६७ र २०६७/६८ को वार्षिक साधारण सभा बोलाएको हो । साधारण सभा भएका आर्थिक वर्षहरुको आम्दानीका हिसाब अहिलेसम्म पनि कम्पनीले मिलाउन सकेको छैन ।
अहिले कम्पनीले ३ आर्थिक वर्षको यस्तो हिसाब मिलाउन नसकेकाले पछाडि मिलाउने भन्दै प्रस्तावित १२० प्रतिशत बोनस स्वीकृत गरिदिन बीमा समितिलाई मौखिक आग्रह गरेता पनि बीमा समितिले कम्पनीले हिसाब मिलान गर्न नसक्ने भएपछि पहिले सबै हिसाब मिलान गरेर आएपछि मात्र बोनस स्वीकृत गर्ने भन्दै कम्पनीलाई फिर्ता पठाएको थियो ।
राष्ट्रिय बीमा कम्पनीले विभिन्न आर्थिक वर्षको गरी लगभग ८० करोड रुपैयाँ बराबरको सस्पेन्स एकाउण्टको हिसाब मिलान गर्न बाँकी रहेको छ । कम्पनीको आर्थिक वर्ष २०७२/७३ सम्मको लेखापरीक्षण पुरा भएको छ । तर सस्पेन्स एकाउण्टको हिसाब नमिलेका कारण २०६८/६९ पछिका लेखापरीक्षण भईसकेका वर्षको साधारण सभा हुन नसकेको हो । अब सस्पेन्स हिसाब मिलान भएपछि अर्को साधारण सभाबाट मात्र बीमा कम्पनीले यस अघि प्रस्ताव भएको १२० प्रतिशत बोनस वितरण गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्