भृकुटी मण्डपमा नाडा अटो शोको महाकुम्भ मेला, राजस्व तथा अन्तःशूल्क घटाउन व्यवसायीको माग

काठमाडौं, २७ भाद्र । काठमाडौंको भृकुटी मण्डपमा सबै भन्दा नाडा अटो मेला लागेको छ । महाकुम्भ मेलामा गाडी किन्ने र अवलोकनका लागि आउनेको भिड लागेको छ । नाडाको आयोजनामा अटो शोको १३ औँ संस्करण मंगलबारबाट सुरु भएको छ । नाडा अटोमोवाइल्स एशोसिएसन् अफ नेपाल र ग्लोवल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेजको संयुक्त आयोजनामा सुरु भएको नाडा अटो शो २०१८ को शीर्ष प्रायोजक सर्भो लुब्रिकेन्ट्स रहेको छ ।
भाद्र ३१ गतेसम्म चल्ने मेलामा १९ वटा ब्राण्डका ४ पाङग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारीसाधनहरू प्रदर्शनिमा राखिने छन् । अटो शोमा यस वर्ष ७१ कम्पनीहरूको सहभागिता रहेको छ । यसपटक १ सय ३४ वटा स्टल रहेका छन् ।
मेला मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडा उद्घाटन गर्नुभएको हो ।
सो उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले ऋण बोकेर विलासिताका साधन खरिद गर्न नहुने तर्क गरे । उनले यस्तो कार्यले आर्थिक विकास नहुने समेत उल्लेख गर्दै आम्दानीमा आधारित उपभोग वृद्धिले मात्रै अर्थतन्त्र विस्तारमा सहयोग गर्ने बताए ।
कार्यक्रममा व्यावसायीले बैंकको कर्जामा कडाई हुँदा गाडीको बिक्रीमा कमी आएको गुनासो गर्दा अर्थमन्त्री खतिवडाले बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रणालीमा आवश्यकता अनुसार खुकुलो र कडा नीति लिइने गरेको बताए ।
देश आर्थिक विकासको चरणमा प्रवेश गर्दै गर्दा ऋणको माग हुने हुँदा यसले बैंकिङ क्षेत्रमा तरलताको समस्या देखा परेको बताउँदै बैंकिङ क्षेत्रको तरलताको समस्या समाधान गर्न सरकारले पहल गरिरहेको उनले उल्लेख गरे ।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले देशमा अर्थतन्त्र बुझेको अर्थमन्त्री आएको भन्दै खुसियाली मनाउँदै गर्दा अपेक्षा अनुसार काम नभएको उल्लेख गर्दै गरिन् । कार्यक्रममा बोल्दै उनले भनिन् “अर्थमन्त्री ज्यूले हामीले नभनीकन बुझ्नु हुन्छ, हामीले केहि भनिरहनु पर्दैन भन्ने लागेको थियो तर हामीले धेरै नै अपेक्षा गरेका रहेछौँ ।”
देशको व्यापार घाटा बढ्यो भनिरहँदा सरकारले अटोमोवाइलको विकास तथा निर्माणको लागि केही सहुलियत दिनुपर्ने उनले तर्क गरिन् ।
कार्यक्रममा नाडा अटो मोवाइल एसोसिएसनका अध्यक्ष शम्भुप्रसाद दाहालले सरकारले अटो मोवाइलमा अत्याधिक कर बढाउदा यस वर्ष १.५ प्रतिशतले बिक्री घटेको बताउँदै उनले सरकारलाई राजस्व तथा अन्तःशूल्क घटाउन अनुरोध गर्दा पनि नमानेकोमा उनले आक्रोश पोखे ।
प्रतिक्रिया दिनुहोस्