माल्दिभ्सलाई पराजित गरेर फाइनल पुग्न चाहान्छौंः गोलरक्षक चेम्जोङ

जागरण न्युज
ढाका, २६ भाद्र । नेपाली राष्ट्रिय फुटबल टिम साफ च्याम्पियनसिप अन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेल्दैछ । नेपाली राष्ट्रिय टिमका पहिलो रोजाईका गोलरक्षक किरण चेम्जोङले साफ च्याम्पियनसिपअन्तर्गत बुधबार हुने माल्दिभ्सविरुद्धको सेमिफाइनल खेलका लागि आफूहरु तयार रहेको बताएका छन ।
किरण माल्दिभ्सकै टीसी स्पोट्र्स क्लबबाट व्यावसायिक फुटबल खेल्दै आइरहेका छन् । गोलरक्षक किरणले भने, ‘हामी सेमिफाइनलमा माल्दिभ्सविरुद्धको खेलको लागि तयार छौं । माल्दिभ्सविरुद्धको खेल्न टिम तयार र उत्साहित छ । माल्दिभ्सलाई पराजित गरेर हामी फाइनल पुग्न चाहान्छौं ।’ उनले भने आफूले सक्ने मिहनेत गर्नेछौं र नेपाललाई फाइनल सम्म पुर्याउने चाहना छ ।’

माल्दिभ्सको राष्ट्रिय टोलीमा किरणकै टोली टीसी स्पोट्र्समा खेल्ने दुई खेलाडी फरवार्ड इब्राहिम महुधि र मिडफिल्डर इब्राहिम वाहिद छन् । यी दुवै खेलाडी भारतविरुद्ध पहिलो रोजाइमा खेलेका थिए । किरणले आफ्ना क्लबका सहकर्मीलाई पराजित गर्दै नेपाली समर्थकलाई खुशी दिने समेत बताए ।
‘हामीले आफ्नै गल्तिले गर्दा पाकिस्तानसँग हार व्यहोर्नु पर्यो । पहिलो हारसँगै हामीलाई अर्को चरण पुग्न बाँकी दुवै खेल जित्नै पर्ने दवाव थियो र दुबै खेल जीत्दै हामी सेमिफाइनलमा पुग्न सफल पनि भयौं । अब लक्ष्य फाइनल पुग्ने हो ,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस्