मिर्मिरे लघुवित्तको ९ हजार ७५३ कित्ता सेयर लिलामी खुल्ला

जागरण न्युज
काठमाडौं, २६ भाद्र । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले मंगलबार (भदौ २६ गते) देखि सर्वसाधारण समूहको सेयर लिलामी बिक्री खुला गरेको छ । संस्थाले सर्वसाधारण समूह तर्फको ९ हजार ७५३ कित्ता सेयर लिलामी बिक्री खुला गरेको हो ।
लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लिलामीमा आवेदन दिने अन्तिम म्याद असोज ४ गतेसम्म रहेको छ ।
संस्थाले गत असार २७ देखि साउन २९ गतेसम्म ४ लाख ५० हजार कित्ता ९१००५० हकप्रद सेयर निष्कासन गरेको थियो । जसमा ३ हजार ६३७ जना सेयरधनीले ४ लाख ४० हजार २४७ कित्ताका लागि मात्र आवेदन दिएका थिए । बाँकी ९ हजार ७५३ कित्ता हकप्रद बिक्री हुन नसकेपछि सेयर लिलामी बिक्री खुला गरिएको हो ।
आवेदकले बोलपत्र फारम बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट पनि लिन र बुझाउन सक्नेछन । त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा मिर्मिरेको मुख्य कार्यालय बनेपाबाट पनि आवेदन दिन सकिनेछ ।
हकप्रद र लिलामी बिक्री गरेपछि मिर्मिरेको चुक्ता पुँजी १० करोड ३८ लाख ६० हजार रुपैयाँ पुग्नेछ । साथै कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट २४ प्रतिशत बोनस सेयर दिने घोषणा पनि गरेको छ, बोनस सेयर हकप्रद र लिलामी भर्नेले पनि पाउनेछन् । २४ प्रतिशत बोनसपछि मिर्मिरेको चुक्ता पुँजी १२ करोड ८७ लाख ८६ हजार ४०० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्