साफ च्याम्पियनसिप फुटबल: नेपालले आज माल्दिभ्यसको सामना गर्ने

काठमाडौं, २५ भदौ । साफ च्याम्पियनसिप फुटबलको सेमीफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्ने भएको छ ।
हिजो भएको समुहको अन्तिम खेलमा भारतसँग २–० ले पराजित भए पनि माल्दिभ्सले टसमार्फ्त भाग्य चम्काउँदै नेपालसँगको भिडन्त तय गरेको हो ।
हिजोको खेलपछि समूहमा भारत विजेता बन्दै सेमिफाइनल प्रवेश गर्‍यो । माल्दिभ्स र श्रीलंका दुबै टोलीको समान १–१ अंक थियो ।
दुबै टोली भारतसँग २–० ले पराजित भएकाले दोस्रो हुने टोलीको छिनोफानो टसबाट गरिएको हो ।
टसमा माल्दिभ्स भाग्यमानी बन्दै सेमिफाइनलमा उक्लिंदा अभागी श्रीलंका समूहबाटै घर फर्कियो । माल्दिभ्स र नेपालबीचको सेमिफाइनल खेल बुधवार हुनेछ ।
सोही दिन हुने दोस्रो सेमिफाइनल खेलमा भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानसँग खेल्नेछ ।
प्रतिक्रिया दिनुहोस्