बंगलादेशविरुद्ध नेपालको सनसनीपूर्ण जित, नेपाल सेमिफाइनलमा
काठमाडौं, २३ भाद्र । आयोजक बंगलादेशमाथि सनसनीपूर्ण जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २-० गोल अन्तरले हराएको हो ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३-० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई जित चाहिएको थियो भने बंगलादेशलाई बराबरी भए पुग्थ्यो ।
खेलमा नेपालले सुरुदेखि नै घरेलु समर्थकको साथ पाएको बंगलादेशलाई दबावमा राख्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपाललाई सुरुवाति अग्रता दिलाएका थिए ।
विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सफल भएनन् । बंगलादेशी गोलकिपरको त्यही गल्ती टनिङ प्वाइन्ट बन्यो । एक गोलले अगाडि रहेपछि नेपाली खेलाडीहरूले उत्साहित भइ खेले र दोस्रो हाफमा पिवक्षीमाथि दबाव बनाइराखे ।
५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो । ६० मिनेटको खेल सकिएपछि नेपालले खेलाडी परिर्वतन र्गयो । ६२औं मिनेटमा निराजन खड्काको स्थानमा अन्जन विष्ट मैदानमा प्रवेश गरे भने कप्तान भरत खवासको स्थानमा नवयुग श्रेष्ठ ।
घरेलु टोलीको पोष्टमा एकपछि अर्को आक्रमण गरेको नेपाल निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा सफल भयो । स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।
जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६(६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ ।
पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । नेपाललाई जसरी पनि जित्नु पर्ने दवाव थियो । त्यो पुरा गरेको छ ।
प्रतिक्रिया दिनुहोस्