साफ च्याम्पियनसिप : समूह चरणको अन्तिम खेलमा नेपाल बंगलादेशविरुद्ध खेल्दै

काठमाडौं,२३ भदौ।   बंगलादेशमा भइरहेको साफ सुजुकी कप फुटबल अन्तर्गत नेपालले शनिबार समूह चरणको अन्तिम खेलमा घरेलु टोली बंगलादेशसँग खेल्दैछ ।
बंगबन्धु स्टेडियममा साँझ ६ः४५ बजेदेखि नेपालले खेल्दै गर्दा नेपाल जितको निर्विकल्प स्थितिबाट मैदानमा प्रवेश गर्नेछ ।
नेपाल र बंगलादेशले खेल्नुअघि भुटान र पाकिस्तानले सोही मैदानमा प्रतिस्पर्धा गर्दैछन् ।
समूह ‘ए’ मा चारै टोलीको सेमिफाइनल प्रवेश गर्ने गणितीय सम्भावना बाँकी रहँदा पहिलो खेल सबै टोलीको लागि निकै महत्वपूर्ण रहने छ ।
गोल अन्तरका आधारमा दुई टोलीले अन्तिम चारमा स्थान बनाउने हुँदा पहिलो खेलले धेरै हदसम्म अर्को चरणको बाटो केही साँघुरो पार्नेछ ।
पहिलो खेलमा पाकिस्तानले भुटानमाथि जित हात पारे पाकिस्तानको अघि बढ्ने सम्भावना बलियो हुनेछ । भुटानसँग पाकिस्तान पराजित भए नेपाल र बंगलादेशले बराबरी खेले दुवै टोलीले अन्तिम चारमा स्थान बनाउने छन् ।
बंगलादेशमाथिको जितले नेपालले अन्तिम चारमा स्थान पक्का गर्नेछ । बंगलादेशसंग पराजित भए नेपालको यात्रा गोल अन्तरमा नै भर पर्नेछ ।
बंगलादेशले सतप्रतिशत नतिजा निकाल्दै आएको छ भने नेपालले भुटानलाई ४–० ले हराउँदा पाकिस्तानलाई २–१ को नतिजा सुम्पेको थियो ।
प्रतिक्रिया दिनुहोस्