साफ च्याम्पियनसिप : अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं। साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ। खेलको अन्तिम मिनेटमा सम्हालिन नसक्दा नेपालले हार ब्यहोरेको हो।
बंगलादेशमा मंगलबारमाट सुरु प्रतियोगिताको उद्घाटन खेलमा नेपालले हार व्यहोरेको हो। खेलको ३७औं मिनेटमा नेपालले पहिलो गोल खाएको थियो। पेनाल्टीमार्फत पाकिस्तानलाई मोहमद रिजाले अग्रता दिलाएका हुन्।
पहिलो हाफमा १–० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै नेपालले ८३औं मिनेटमा गोल गरेको थियो। नेपालका लागि विमल घर्तिमगरले बराबरी गोल फर्काएका थिए।
तर नेपालको खुशी केही समयमात्र रहन पुग्यो। खेल सकिन केही सेकेन्ड मात्र बाँकी रहँदा पाकिस्तानका माेहम्मद अलि दाबाेसले गोल फर्काएपछि अन्ततः नेपालले खेल गुमाउन पुग्यो।
यसअघि केही दिनअघि मात्रै सम्पन्न एसियाली खेलकुदमा समेत पाकिस्तानले समान गोलअन्तरमा नेपाललाई पराजित गरेको थियो।
जितसँगै समूह ए मा पाकिस्तानले तीन अंक जोडेको छ। नेपालले बिहीबार भुटान र शनिबार बंगलादेशको सामना गर्नेछ।
साफ फुटबलको १२औं संस्करणसम्म आइपुग्दा नेपालले उपाधि जित्न सकेको छैन। नेपालले अब पर्सी भुटानसँग प्रतिस्पर्धा गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्