पहिरोले घर पुरिँदा एकै परिवारका तीन बालबालिकाको मृत्यु
काठमाडौं । सल्यानको बागचौर नगरपालिका १२ ओख्रेनी मुलखोलामा पहिरोमा पुरिँदा तीन बालबालिकाको ज्यान गएको छ। स्थानीय बालाराम डाँगीको घर पहिरोमा पुरिँदा उनका दुई छोरी एक छोराको मृत्यु भएको हो।
मृृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, ७ वर्षीय ललित डाँगी र ४ वर्षीया मेनका डाँगी रहेको वडाध्यक्ष दीपक वलीले जानकारी दिए। खाना खाइरहेको समयमा एक्कासि पहिरो खस्दा घर पुरिएको थियो। बस्तुभाउ समेत पुरिएको वलीले बताए।
डाँगी र उनकी श्रीमती दूध दुहुन गोठमा गएका बेला पहिरो खसेकाले उनीहरु भने बाँच्न सफल भएको जिल्ला प्रहरी कार्यालय सल्यान डिएसपी वीरेन्द्रबहादुर शाहीले बताएका छन्। उनका अनुसार रातको समय र भारी वर्षाका कारण उद्धार गर्न कठिनाइ भएको र बिहान स्थानीयको सहयोगमा उद्धारको तयारी भइरहेको छ।
इलाका प्रहरी कार्यालय सिमखोली र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।















प्रतिक्रिया दिनुहोस्