एसिसि एसिया कप छनोट खेलमा मलेसियालाई नेपालले दियो १८९ रनको लक्ष्य

जागरण न्युज
काठमाडौं, १६ भाद्र । मलेसियामा जारी एसिसि एसिया कप छनोट खेलमा नेपालले घरेलु टोली मलेसियालाई १८९ रनको लक्ष्य दिएको छ । नेपालले सात विकेटको क्षतिमा सो लक्ष्य दिएको हो ।
आरिफ शेख र दीपेन्द्र सिंह ऐरीको शतकीय साझेदारीसँगै नेपालले एसिया कप छनोटमा मलेसियासामू १८९ रनको लक्ष्य प्रस्तुत गरेको छ । नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
ओपनिङमा सुवास खकुरेल र अनिलकुमार साहलाई ल्याएको नेपालको सुरुवात राम्रो गर्न सकेन । सुवास खकुरेल व्यक्तिगत ९ रनमा आउट भए भने ज्ञानेन्द्र मल्ल ११, पारस खड्का १३, अनिल १६ र सागर पुन शुन्यमै आउट भए र मात्र ६० रन जोड्दा नेपालले महत्वपूर्ण ५ विकेट गुमाउन गुमायो ।
खेलमा दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले पारी सम्हाले । छैटौं विकेटका लागि आरिफ शेखसँग १०१ रनको साझेदारी गरेका ऐरी व्यक्तिगत ५४ रनमा आउट भए । ५१ बलको सामना गरेका उनले छ चौका र एक छक्का प्रहार गरेका थिए ।
सोमपाल कामी पहिलो बलमै आउट भए । आरिफले बसन्त रेग्मीसँग निकै आक्रामक खेल्दै १४ बलमा २७ रनको साझेदारी गरे । उनी ६४ रनमा अविजित रहे ।
४८ बलको सामना गरेका उनले ५ चौका र २ छक्का हाने र नेपालले ३० ओभरको खेलमा ७ विकेट गुमाएर १८८ रन बनायो ।
प्रतिक्रिया दिनुहोस्