संघियता घोषणा गर्दैमा जनता अधिकार सम्पन्न हुँदैनन् र रातारात विकास पनि हुँदैनः मेयर राणा

डा. धवल शमशेर राणा नेपालगञ्ज उप–महानगरपालिकाका मेयर हुनुहुन्छ । वि.सं.२०१८ सालमा नेपालगञ्जमै जन्मेका राणाले भारतमा अध्ययन गरि अमेरिकाको युनिभर्सिटीबाट स्थानीय निकायमै विध्यावारिधी गर्नु भएको छ । आफ्नो जन्म थलोलाई नै कर्मथलो बनाउनु भएका राणा होटल, कृषि, व्यापार लगायत व्यवसायमा पनि संलग्न हुनुहुन्छ । सादा जीवन उच्च बिचार भएका राणा नेपालगञ्जकै विकास र जनताको दुःख सुखमा साथ दिँदै राजनीतिक र सामाजिक रुपमा अगाडी बढिरहनु भएका राणा यस अघि पनि नगरपालिकाको प्रमुख भएर काम गरेको अनुभव भएका राणाको कुशल कार्यशैलीले गर्दा जनताबिच लोकप्रिय भएकाले २० बर्षपछि पुनः प्रमुखको जिम्मेवारी पाएका छन् । उप–महानगरपालिकालाई स्मार्ट शहर बनाउन कस्तो गुरु योजना बनाउनु भएको भन्ने बिषयमा केन्द्रीत रहेर डा. धवल शमशेर राणासंग जागरण न्युजकर्मी रञ्जित धमलाले गर्नु भएको कुराकानीको अंश:

उप–महानगरपालिकाको अहिलेको अवस्था कस्तो छ ?
नेपालगञ्ज उप–महानगरपालिका देशभर रहेका ११ उप–महानगरपालिकाहरु मध्ये विकासको प्रचुर संभावना भएको उप–महानगरपालिका हो । विकासका सम्भावना हुँदाहुँदै पनि ढल निकास र फोहोरमैला संकलन केन्द्र (ल्यान्डफिल्ड साइट) को राम्रो व्यवस्थापन नहुँदा यो नगर सबैभन्दा ठूलो समस्यामा छ । व्यवस्थित सभाहल र सभागृहको अभाव छ । त्यो पनि केहि समयमा पूरा हुन्छ । सबै कुरामा व्यवस्थित हुँदैछ ।

यस नगरको आर्थिक र भौतिक संरचनाको अवस्था कस्तो छ ?
आर्थिक र भौतिक हिसावले यस उप–महानगरपालिकामा सरकारी अञ्चल अस्पतालसहित निजी अस्पताल, बैंक, त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पस र निजी स्तरका कलेजहरू सञ्चालनमा रहेका छन् । नेपालगञ्जमा खेलकुदको लागि क्षेत्रीय स्तरकै ठूलो रंगशाला, कभर्डहल, सुटिङ रेन्ज, भारोत्तोलन स्थल रहेको छ, भने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आगामी वर्ष यसै स्थाानमा हुने भएको छ । त्यसको लागि पूर्वाधार निर्माण तथा मर्मत सम्भार भईरहेको छ । यस अर्थमा केही पूर्वाधार छ तर पर्याप्त छैन् । अन्तर्राष्ट्रिय विमान स्थल निर्माण हुँदैछ । यस पछि व्यापार व्यवसाय र पर्यटन क्षेत्रको पनि विकास हुन्छ । नगरको विकासले गति लिंदै गएकाले यो नगर आर्थिक हिसावले सवल नै छ ।

तपार्ई नेपालगञ्ज उप–महानगपालिकाको मेयर भैसकेपछि यहाँको विकास र समृद्धिका लागि के–के गर्नु भयो ?
म आउनु अघि नगरका अधिकांश भौतिक संरचनाहरु जिर्ण भईसेकेका थिए । लामो संक्रमणकाल र १९ वर्षसम्म जनप्रतिनिधि बिहिन भएकाले यस समयमा नगर तथा गाउँपालिकाहरुमा सुशासन थिएन । मेरो पहिलो कार्यकालमा निर्माण भएका प्रायजसो संरचनाहरु पनि जिर्ण र ध्वस्त भईसकेका थिए । म प्रमुख भईसकेपछि अहिलेसम्म पूर्वाधार निर्माणमै समय बितेको छ । अझै ८/९ महिना पूर्वाधार निर्माणकै क्रम रहनेछ । त्यस पछि हामी नगरको सरसफाई र हरियाली बनाउने कार्यमा जुट्ने छौं । त्यसपछि विकासले एउटा गति लिन्छ । सडक कालोपत्रे गर्ने कार्य तिव्ररुपमा भईरहेको छ । नगरको विकासको लागि आर्थिक वर्ष २०७५/०७६ मा २ अर्ब ४३ करोड ३८ लाख ३८ हजार ३६ बजेट विनियोजन गरिएको छ । यो सम्मृद्धि तर्फको कदम हो भन्ने मलाई लाग्छ ।

नगरवासीका आवश्यकता र मुख्य समस्याहरु के–के हुन, कुन कुरालाई प्राथमिकता दिनु पर्ला ?
मुलतः नगरका मुख्य समस्याहरु सडक, ढल, नाली र पार्कहरु तथा भत्किएका नगरका भौतिक संरचनाहरु नै हुन् जुन मर्मत, संभार तथा निर्माण कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं । समस्या र आवश्यकता भन्ने कुरा जहाँ र जुन ठाउँमा पनि छन् । यसलाई प्राथमिकताको आधारमा समाधान गर्दै जानुपर्छ । अझ नेपालगञ्जको विशेष समस्या भनेको त पानीको निकास नै हो । यस समस्यालाई पनि मध्यनजर गर्दै बजेट पनि छुट्याएका छौं । नगरका सबै वडाहरुको समान विकासका लागि व्यवस्थापन गर्ने काम भईरहेको छ ।

‘मैले चुनावको प्रचार प्रसारमापनि असम्भव र नहुने कुरा गरेर जनतालाई सपना बाँडिन । जिम्मेवारीमा रहँदा पनि मैले कहिल्यै भ्रष्टाचार गरिन ।’

यहाँ सिंचाइको समस्या कत्तिको छ ?
नेपालगञ्ज नेपालकै गर्मी शहर मध्यकै एक हो । तराई भएपनि सिंचाइको समस्या छ । गर्मीको समयमा पानीको अभाव हुन्छ नै । यहाँ सिंचाइ आयोजनाहरु बन्दै छन् । यस क्षेत्रमा अन्य ठाउँमा जस्तो केहि समय पश्चात सिंचाईको समस्या रहँदैन । सिक्टा सिंचाई आयोजना अन्तिम चरणमा रहेको छ । यो योजना पूरा भएपछि कृषि व्यवसायले पनि फड्को मार्छ र र खाद्यानमा आत्म निर्भर हुन्छ ।

चुनावको समयमा जनतासंग गरेका बाचाहरु पूरा गर्नु भएको छ या छैन ?
नेपालगञ्ज मेरो जन्म थलो हो र विगतमा पनि मेयर भएर काम गरि सकेको मानिस हुँ । मैले अन्य व्यक्तिले जस्तो असम्भव र झुटो बाचा गरिन । जनताले साँचो बोल्ने र काम गर्ने मानिस हो भन्ने कुरा बुझेका छन् । चुनावको बेला अन्य उमेद्वारहरुले जस्तो लामो दस्तावेज र घोषणा नगरी एक पन्नाको घोषणा पत्र जारी गरें । मैले चुनावको प्रचार प्रसारमा पनि असम्भव र नहुने कुरा गरेर जनतालाई सपना बाँडिन । जिम्मेवारीमा रहँदा पनि मैले कहिल्यै भ्रष्टाचार गरिन । जनताले कामको मुल्यांकन गरेर नै जिम्मेवारी दिएका हुन । फेरी पनि काम गरेर देखाउँछु ।

काठमाडौं भन्दा आधा पैसा र समयमा दिल्ली पुग्ने भएपछि पर्यटनको विकास संगै दुई राष्ट्रबिचको सम्बन्धसंगै व्यापार पनि बढ्छ ।

नेपालगञ्जलाई स्मार्ट सिटी बनाउन के–के गुरु योजन के छ ? सरकारको मुुख ताक्नु पर्ने अवस्था छ या छैन ?
नेपालगञ्जलाई स्मार्ट सिटी बनाउन अभियानमा लागिरहेका छौं । सफा, सुन्दर, हराभरा शहर बनाउने अभियान अन्तर्गत विकासका योजनाहरु अगाडी बढिरहेको छ । अबको योजना भनेको नेपालगञ्जबाट दिल्ली सिधा हवाई उडान गर्ने लक्ष्य अनुरुप भारत सरकारले पनि त्यसको अनुमति दिईसकेको छ । नेपाल सरकारले एयरपोर्ट, रनवे ईमिग्रेसन लगायतको कुरा मिलाउन आवश्यक छ । यि कार्य पूरा गरेपछि यहाँबाट सिधा दिल्ली उडान हुन्छ । काठमाडौं भन्दा आधा पैसा र समयमा दिल्ली पुग्ने भएपछि पर्यटनको विकास संगै दुई राष्ट्रबिचको सम्बन्धसंगै व्यापार पनि बढ्छ । यो नै यस नगरको विकासका लागि गुरु मन्त्र हो ।

नेपालगञ्ज मध्य तथा सुदूरपश्चिमको केन्द्रको रुपमा विकास गर्न सम्भव छ, यहाँको स्रोेत र साधन के–के हुन ?
नेपालगञ्ज मध्य तथा शुदूरपश्चिमका २४ जिल्लाको व्यापारिक, आद्यौगिक, शैक्षिक, स्वास्थ्य आदिको प्रमुख केन्द्र हो । मानसरोवरको रुट खुलेपछि पर्यटकियद्वार खुल्नेछ । यो पर्यटकीय नगरी बन्छ । हजारौं मानिसहरु हुम्लाको सिमिकोट हुँदै मानसरोवर जान्छन् । यसले गर्दा यहाँका हजारौं मानिसले रोजगारी पाउँछन् । अहिले तपाईले डाटा लिनुभयो भने एक वर्षमा १५ हजार भन्दामाथि पर्यटक नेपालगञ्ज हँुदै मानसरोवर जाने गरेका छन् । धार्मिक पिठहरु भएकाले गर्दा देश तथा विदेशका पर्यटक आउने गर्छन् । त्यसैले यहाँ होटल तथा पर्यटन व्यवसायको ठूलो सम्भावना छ । सोल्टी होटल आइसक्यो र अरु ठूल्ठूला होटलहरु पनि निर्माण हुने क्रममा रहेका छन् । विभिन्न उद्योगहरु दिनानुदिन थपिने क्रममा छ । यो नगर हरेक दृष्टिकोणले सम्भावना भएको नगर हो । प्राकृतिक रुपले सम्पन्न छ ।

यस क्षेत्रमा पर्यटक भित्र्याउनका लागि गुरुयोजना के छ ?
हामीले आन्तरिक पर्यटकका लागि ठूल्ठूला २/३ वटा कृतिम तालहरु बनाईरहेका छौं । गर्मीस्थानमा तालले गर्दा शितलकासाथै रमणीय पनि हुन्छ । त्यहाँ डुंङ्गा लगायत विभिन्न प्रकारका व्यवसाय संचालन गर्न सकिन्छ । धार्मिक हिसाबले पनि बागेश्वरी मन्दिर शक्तिपिठ हो । यसले गर्दा पनि धार्मिक पर्यटनको विकास गर्न सकिन्छ । शहरलाई हराभरा बनाई सुन्दर बनाउछौं । पर्यटकका लागि होटल निर्माण, सुन्दर र सफा पार्क निर्माण हुने क्रममा छ । धार्मिक पिठहरुको निर्माण तथा संरक्षण प्रचार प्रसार गर्ने योजनामा छौं । नेपालगञ्जबाट दिल्ली सिधा हवाई उडान हुने भएकाले यहाँको पर्यटन विकासमा धेरै टेवा पुग्ने छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितासमेत आगामी वर्ष नेपालगन्जमै हुने भएकाले आन्तरिक र वाह्य दुबै पर्यटन बृद्धि हुनेछ । हामी सबै क्षेत्रबाट लागिपरेको छौं ।

धार्मिक दृष्टिकोणले यस नगर संवेदनशील छ ?
नेपालगञ्ज अन्य नगर भन्दा धेरै संवेदनशिल ठाँउ हो । विकास संगसंगै धार्मिक दृष्टिले पनि महत्वपूर्ण छ । यहाँ धेरै थरिका मानिसको बसोबास गर्ने क्षेत्र पनि हो । हिन्दु, मुस्लिमको संख्या बराबरी छ र बौद्ध धर्मावलम्बी पनि छन् । यस क्षेत्रमा सबै धर्मावलम्बीहरु बस्ने भएकाले सानो त्रुटिले पनि साम्प्रदायिक हिंसा भड्किन सक्छ । त्यसले गर्दा सबै जात–जाती र धर्मावलम्बी र संस्कृतिका मानिसको भावना बुझ्न सक्नु पर्छ । यो कुरा मैले बुझेको छु र सचेत छु ।

राष्ट्रिय राजनीतिलाई कसरी समन्वय गरिरहनु भएको छ ?
अहिले म राष्ट्रिय राजनीति भन्दा पर छु । मेरो पहिलो कर्तव्य भनेको नगरको विकास नै हो । नगरलाई सम्बृद्ध बनाई सकेपछि राष्ट्रिय राजनीतिमा केन्द्रीत हुनु पर्ला भन्ने सोच छ । नगरको विकासमा दिन रात तल्लिन भई लागिरहेको छु । राष्ट्रिय राजनीतिको कुरा गर्ने समय छैन । पहिलो र महत्वपूर्ण कुरो नै नगरको विकास हो । जनतालाई सेवा दिनु हो । विकास गरेपछि जनता खुशी हुन्छन् । जनतानै न्यायाधिश हुन् । राजनीतिको भविष्य निर्धारण पनि जनताले नै गर्छन् ।

राष्ट्रिय राजनीतिमा आउनुपर्छ भन्ने दवाव पार्टीमा छ, छैन ?
राष्ट्रिय राजनीतिमा आउनुपर्छ भन्ने कार्यकर्ताको दवाव छ । त्यो स्वभाविक पनि हो । म राजनीतिक प्राणी हुँ । हाम्रो पार्टी राप्रपा मिल्दा पनि मेरो भूमिका छ । राजनीतिमा युवा वर्गले भूमिका खेल्नुपर्छ भन्ने अधिकांश कार्यकर्ता र नेताहरुको आग्रह छ । राजनीति भनेको समय अनुसार अघि बढ्दै जान्छ ।

गाउँ–गाउँमा सिंहदरवार पुग्यो, संमृद्धिको मुल फुट्यो भन्ने कुरा छ, यसलाई तपाईंले कसरी हेर्नु भएको छ ?
अहिले ठ्याक्कै भन्ने अवस्था छैन । राजनीतिक, आर्थिक र सामाजिक परिस्थिती तरल अवस्थामा भएकाले संघियता पनि संक्रमण अवस्थामा छ । संघियता कार्यान्वयनमा पनि चुनौती छ । संघियता कार्यान्वयनको सन्दर्भमा भौतिक संरचना र कार्यालय व्यवस्थापन, बजेट विनियोजन, कार्य सम्पादन र कर्मचारी व्यवस्थापन नै प्रमुख चुनौती हो । विकास भन्ने कुरा कुनै जादुको छडी पनि होइन । जनतालाई अधिकार दिएको घोषणा गर्दैमा र संघियता हुँदैमा रातारात विकास हुँदैन । संघियतालाई व्यवस्थापन गर्न सक्नु पर्छ । संघियताले मात्र जनता अधिकार सम्पन्न हुँदैन । त्यसको लागि अभ्यास गर्दै जानु पर्छ । सर्वप्रथम सोचमा परिवर्तन आउनु पर्छ । जनप्रतिनिधी र कर्मचारी दुवै जनताप्रति उत्तरदायी हुनुपर्छ । काम कर्तव्य र अधिकार विर्सनु हुँदैन । यसको लागि सबैको सहयोग र सद्भावको जरुरत पर्दछ । देशको संमृद्धिको लागि छिमेकी मुलुकको पनि ठूलो भूमिका हुन्छ । अझ हाम्रो देश त भूपरिवेष्ठित मुलुक भएकोले विश्व बजार र अर्थतन्त्रले ठूलो प्रभाव पर्छ । छिमेकी देशलाई समदुरीमा राख्नु पर्छ । यसमा राजनीतिक नेतृत्वले पनि असर पर्छ । कूटनीतिक सम्बन्धलाई समयानुकुल बनाउदै लानुपर्छ ।

प्रतिक्रिया दिनुहोस्