अभ्यास खेलमा नेपालको लगातार दोस्रो जित, ऐरीको शतक

काठमाडौं । एसिया कप छनोटको तयारीका लागि श्रीलंकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो अभ्यास खेलमा फराकिलो जित हासिल गरेको छ ।

शुक्रबार त्यहाँको स्थानीय ब्लुमफिल्ड क्लबसँग भएको दोस्रो खेलमा नेपाल १७६ रनले विजयी बन्यो ।

३२४ रनको विशाल लक्ष्य पच्छ्याउनेक्रममा ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाउँदै १३४ रन बनाउँदा प्रकाशमा समस्या आएपछि खेल रोकिएको थियो ।

त्यसपछि खेल हुन सकेन र नेपालले ‘डकवर्थ लेविस’ नियमको आधारमा १७६ रनले विजयी बन्यो ।

नेपालका सागर पुनले तीन, ललित भण्डारीले दुई तथा वसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान एक/एक विकेट लिन सफल भए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रनको विशाल योगफल तयार परेको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेले । दीपेन्द्रले ९६ बलमा १२१ रन बनाए ।

यस्तै, सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।

यस्तै, कप्तान पारस खड्काले २३, करण केसीले २६ र अनिलकुमार शाहले १७ रन बनाए ।

नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई बुधबार ६७ रनले हराएको थियो ।

नेपालले अन्तिम अभ्यास खेलमा कोल्ट्स क्लबसँग उसकै घरेलु मैदानमा आगामी आइतबार खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्