नेपाल पहिलो अभ्यास खेलमा ६७ रनले विजयी

काठमाडौं । श्रीलंकामा एसिया कप क्रिकेट छनोट खेलको तयारी गरिरहेको नेपाली राष्ट्रिय टोली बुधबार पहिलो अभ्यास खेलमा ६७ रनले विजयी भएको छ ।

श्रीलंका आर्मी स्पोर्ट्स क्लबसँग उसैको घरेलु मैदान पानागोडामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८.४ ओभरमा पूरै विकेट गुमाउँदै १९४ रन बनाएको थियो ।

नेपालका लागि आरिफ शेखले ८९ रनको उत्कृष्ट पारी खेलेका थिए । उनले ११८ बल खेल्दै पाँच चौका र चार छक्काको मद्दतले ८९ रन जोडेका थिए ।

त्यस्तै, उपकप्तान ज्ञानेन्द्र मल्लले २१, सुवास खकुरेल १०, रोहितकुमार पौडेलले १२, विनोद भण्डारीले १६, ललित भण्डारीले ११ र वसन्त रेग्मीले १६ रन बनाए ।

१९५ विजयी लक्ष्यका साथ मैदान प्रवेश गरेको श्रीलंका आर्मी स्पोर्ट्सले ३६.१ ओभरमा १२७ रन बनाउँदा सबै विकेट गुमायो ।

श्रीलंका आर्मी स्पोर्ट्सलाई १२७ रनमै सीमित गर्नेक्रममा सोमपाल कामी र वसन्त रेग्मीले समान ३/३ तथा दीपेन्द्रसिंह ऐरीले २, ललित भण्डारी र ललितनारायण राजवंशीले एक/एक विकेट लिए ।

नेपालले दोस्रो अभ्यास खेल शुक्रबार ब्लुमफिल्ड क्लबसँग तथा अन्तिम अभ्यास खेल श्रीलंकाको कोल्ट्ससँग आगामी आइतबार खेल्नेछ ।

यही भदौ ११ गते नेपाली टोली श्रीलंकाबाट मलेसिया प्रस्थान गर्ने टोली व्यवस्थापक रकम शिवाकोटीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्