निर्वाचनलाई मध्यनजर गरी सीमानाका ७२ घन्टाका लागि बन्द

काठमाडौं। आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई मध्यनजर गर्दै आज बिहानदेखि नेपाल–भारत सीमासँग जोडिएका मोरङका सीमा नाका बन्द गरिएको छ ।

यही बिहीबार हुने निर्वाचन शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्ने उद्देश्यले भारतसँग जोडिएको मोरङको ४२ किलोमिटर सीमा नाकालाई सिल गरिएको प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले जानकारी गराए।

नेपाल र भारतमा हुने गरेको निर्वाचनमा दुवै सीमावर्ती क्षेत्रका प्रशासनिक अधिकारीहरुले आपसी छलफलमा सीमानाका सिल गर्ने गरिन्छ ।

इलाम– यसैगरी सोही निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएका इलामका सीमा नाकाहरू पनि ७२ घण्टाका लागि बन्द गरिएको छ ।

सुरक्षालाई मध्यनजर गर्दै गएराति १२ बजेदेखि मंसिर २१ गते राति १२ बजेसम्म ७२ घण्टाका लागि सीमा बन्द गरिएको जिल्ला सुरक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलले बताए ।

निर्वाचनका समयमा सीमा क्षेत्रबाट कुनै पनि अप्रिय घटना नहोस् भनेर निर्वाचन अवधिभरका लागि सीमा नाका बन्द गरिएको उहाँले बताए ।

उहाँका अनुसार जिल्ला सुरक्षा समितिले अहिले निर्वाचनलाई भयरहित र निष्पक्ष कसरी बनाउन सकिन्छ भन्ने उद्देश्यले सुरक्षा समितिमा छलफल भइरहेको र सुरक्षा रणनीति पनि तयार पारिएको छ ।

इलामका प्रमुख सीमा नाकाहरू पशुपतिनगर, छब्बिसे, मानेभञ्ज्याङ, तुम्लिङ, सन्दकपुरलगायतका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ । नेपाल प्रहरी तथा सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ छन् ।

सीमा क्षेत्रमा लागुऔषध नियन्त्रण, मदिरा निषेध, हातहतियार ओसारपसार, आपराधिक गतिविधि, चोरी तस्करीलगायतका घटना हुन नदिन विशेष निगरानी बढाइएको सुरक्षा समितिले जनाएको छ ।

इनरुवा– यस्तै, दोस्रो चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि गएराति १२ बजेबाट सुनसरीको नेपाल–भारत सीमा नाका पनि बन्द भएको छ ।

दुई मुलुकका सीमा सुरक्षा पदाधिकारीको बैठकमा गरिएको सहमतिअनुसार मंसिर २१ गते साझ ६ बजेसम्मका लागि जिल्लासँग जोडिएका सबै सीमा क्षेत्र बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

उहाँका अनुसार त्यस अवधिभर जिल्लाका कोशी ब्यारेजदेखि केसलीसम्मको ६२ किलोमिटर सीमा नाका बन्द गरिएको हो । सीमा नाका बन्द भएपछि सीमा क्षेत्रबाट सबै साना र ठूला सवारी साधन र पैदलयात्रीको आवागमनमा समेत बन्देज भएको छ ।
सीमा क्षेत्रमा निर्वाचनविरोधी गतिविधि हुन नदिन जिल्ला प्रशासन कार्यालय कैलालीले तीन दिनका लागि कैलालीको पनिसम्पूर्ण सीमानाका बन्द गरेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै १८ मंसिरको बेलुका ५ बजेदेखि २१ गते बेलुका ५ बजेसम्म कैलालीको सम्पूर्ण सीमानाका बन्द गरेको जनाएको छ ।

केही दिनअघि भारतको पलियामा बसेको अन्तरदेशीय बैठकमा निर्वाचनका लागि सीमानाका बन्द गर्ने सहमति भएको थियो । यस अवधिमा मतदातालाई भने आवागमनमा कुनै रोक नलगाइने प्रमुख जिल्ला अधिकारी रिजालले बताए । ‘मतदानका लागि नेपाल आउनेलाई भने सहज प्रवेशको व्यवस्था गर्नेछौँ,’ उनले भने ।

निर्वाचन नजिकिएसँगै जिल्लामा सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरीसँगै नेपाली सेनाले पनि विभिन्न स्थानमा अस्थायी बेसक्याम्प खडा गरेर सुरक्षा व्यवस्था मजबुत पारेको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बता

प्रतिक्रिया दिनुहोस्