एनएमबि बैंकको एजीएम बिहीबार हुँदै, एफपीओले समेत १५ प्रतिशत बोनस पाउने

जागरण न्युज
काठमाडौं । एनएमबि बैंकको बिहीबार (साउन ३१ गते) साधारण सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेल ललितपुरमा हुँदैछ । बैंकले शेयरधनीलाई १५ प्रतिशत बोनस दिने प्रस्ताव पेश गर्नेछ । बैंकले कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव समेत पेस गर्नेछ । बोनस वितरणमा बैंकले १ अर्ब १४ करोड ४ लाख ९३ हजार ५९५ रुपैयाँ र नगद लाभांशका लागि ६ करोड २५ हजार ९७९ रुपैयाँ खर्च गर्नेछ ।

बैंकले एफपीओ बिक्रीपछि कायम चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ बाट बोनस वितरण गर्न लागेको हो । यस आधारमा एफपीओ भर्नेले समेत एनएमबि बैंकको बोनस पाउनेछन । बोनस वितरणपछि जारी पुँजी र चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

आर्थिक वर्ष २०७३/०७४ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव छ । आर्थिक वर्ष २०७४/७५ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा एक्विजिसन प्रकृयामा लैजान परेमा त्यसका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि एनएमबिले साउन १७ गतेदेखि ३१ गतेसम्म बुक क्लोज गरिरहेको छ । साउन १६ गतेसम्म मात्र कायम सेयरधनीले बोनस पाउने छन् ।

एफपीओ बिक्रीपछि र्बैकको चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९० हजार ६३४ रुपैयाँ पुगेको छ । बोनसपछि चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्