लघुवित्त संस्थालाई ग्रामिण क्षेत्रमा जान अर्थमन्त्रीको आग्रह

काठमाडौं, २८ श्रावण । अर्थमन्त्री डा. युवराज खतिवडाले लघुवित्त संस्थाहरुमा देखिएका समस्याहरुलाई समयमै सुधार गर्न सरकार प्रतिवद्ध भएको बताउँदै लघुवित्त संस्थाहरुलाई ग्रामिण र दुरदराजमा रहेका गरिब जनता समक्ष सेवा विस्तार गर्न आग्रह गर्नुभएको छ ।

स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्नुहुदै अर्थमन्त्री डा.खतिवडाले स्थानीय तहमा जाँदा वित्तीय संस्थाहरु नपुगेको ठाउँलाई प्राथमिकता राखेर त्यसलाई कार्यक्षेत्र बनाउन लघुवित्त तथा सहकारी संस्थाहरुलाई आग्रह गरेका हुन् ।

अर्थमन्त्री खतिवडाले अब उत्पादनसँग जोडिने काममा लाग्न पनि लघुवित्त संस्थाहरुलाई आग्रह गर्दै उनले भने, ‘अब उत्पादनसँग जोडिनुपर्छ, महिला उत्पादनमा जोडिने काममा लगाउनुपर्यो । अनौपचारिक सेवामा लाग्नेहरुलाई अनौपचारिक क्षेत्रमा ल्याउने काम पनि तपाइहरुकै हो’। अर्थमन्त्री खतिवडाले लघुवित्तलाई ग्रामिण क्षेत्रमा जानको लागि कस्तो किसिमको वातावरण बनाउनु पर्छ त्यो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘त्यसका लागि पूर्याउनु पर्ने नीतिगत सहयोग र नियमनकारी नियकाबाट गर्नुपर्ने सहयोग गर्न सरकार तयार छ ।

लघुवित्त संस्थाहरुको संख्या बढेसँगै समस्याहरु प्नि देखिएको भन्दै मन्त्री खतिवडाले त्यसलाई समयमा नै सुधार नगरे नियमनमा परिने पनि बताए । लघुवित्तहरुलाई आफैले सामाजिक जिम्मेवारी भित्र रहेर ब्याजदर तोक्न पनि उनले आग्रह गरे ।

अर्थ मन्त्री खतिवडाले गरिबीको दर घटाउन लघुवित्त तथा सहकारीले ठूलो भूमिका खेलेको उल्लेख गर्दै ‘सबै प्रदेश, स्थानीय तह, सामाजिक समूह भौगोलिक क्षेत्रमा समान रुपमा गरिबी घटेको छैन, अहिले पनि केहि क्षेत्रमा ७० प्रतिशतसम्म गरिबी छ’ उनले भने ‘त्यस्ता क्षेत्रमा लक्षित कार्यक्रम लैजानुपर्छ ।’

हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा र विकासमा देखाएको चासोप्रति खुसी व्यक्त गर्दै उहाँले सामाजिक–आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यस तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो ।

त्यस्तै समारोहका सभापति तथा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताउँदै यसलाई समयमै राज्यको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले लघुवित्त संस्थाहरुले बिकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने गर्दै आएको बताउनुभयो ।

समारोहमा अर्थमन्त्री खतिवडाले केन्द्र तथा ग्रामीण ट्रष्ट, बंगलादेशले संयुक्त रुपमा आयोजना गरेको ग्रामीण वित्तीय पद्दती विषयक अन्तर्राष्ट्रिय कार्यक्रमको अवसरमा प्रकाशित “ What we can learn from the Grameen Bank ” अंग्रेजी प्रतिवेदन विमोचन गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्