एक हप्तामा एक अर्बको पनि सेयर कारोबार भएन, परिसूचकमा ९.२५ अंकको गिरावट

काठमाडौँ । सेयर बजारले ययो हप्तापनि गति लिन सकेन । साउन १८ गतेदेखि २४ गतेसम्म जम्मा ९१ करोड ८७ लाख ३२ हजार रुपैयाँको मात्र सेयर कारोबार भएको छ ।

गत हप्ताको तुलनामा कारोबार रकम १४.६८ प्रतिशत कम हो ।

गत साता एक अर्ब सात करोड ६७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ९.२५ अंकले घटेर अन्तिम दिन ११८०.६३ अंकमा पुगेको छ ।

यसैगरी समूहगत परिसूचकमा पनि निकै उतारचढाव देखिएको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.८४ अंकले घटेर २४९.१३ अंकमा आईपुगेको छ ।

यस साता कारोबार रकम (पाँच करोड ९० लाख ४० हजार रुपैयाँ) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेडको संस्थापक अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार भएको सेयर संख्या (पाँच लाख ८५ हजार कित्ता) को आधारमा प्रोग्रेसिभ फाइनान्स लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ ।

कारोबार संख्या (८७७ वटा) को आधारमा भने  नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्