लुम्बिनीमा मोनोरेल सञ्चालनबारे चिनियाँसँग छलफल

काठमाडौं । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रलाई बौद्ध सर्किटका माध्यमबाट जोड्न मोनोरेल सञ्चालनका सम्भाव्यता बारेमा चिनियाँ रेलबे कम्पनीको टोलीसँग प्रदेश नं ५ को सरकारले छलफल गरेको छ ।

मुख्यमन्त्री शंकर पोखरेलसँग चाइना रेलबे इन्टरनेशनल ग्रुपको एक टोलीले शुक्रबार भेट गरी रामग्राम–लुम्बिनी–कपिलवस्तु बुद्धसर्किटमा मोनोरेलको सम्भाव्यता अध्ययनबारे छलफल गरेको हो ।

भेटमा मुख्यमन्त्री पोखरेलले बुद्ध सर्किटमा पर्यटनको सम्भावना प्रचुर रहेको र प्रदेश सरकार पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार विकासलाई प्राथमिकता दिएकाले काम गर्ने वातावरण तयार भएको बताए ।

उनले बुद्ध सर्किटमा मोनोरेल सञ्चालन गरी पर्यटक बढाउने सरकारको योजना रहेकाले सम्भाव्यता अध्ययनबारे छलफल गरी अघि बढ्न सकिने बताए ।

मुख्यमन्त्री पोखरेलले मोनोरेलको सम्भाव्यता अध्ययनका विषयमा लुम्बिनी विकास कोषका सदस्य सचिव विष्णुप्रसाद ढकाल, प्रदेश योजना आयोगका उपाध्यक्ष डा प्रकाश श्रेष्ठ र मुख्यमन्त्री कार्यालयका सचिव वसन्त अधिकारीसँग छलफल गरी अघि बढ्न चिनियाँ टोलीलाई आग्रह गरिएको जानकारी दिए ।

मुख्यमन्त्रीसँगको भेटमा चाइना रेलबे इन्टरनेशनल गु्रपअन्तर्गतको चाइना ओभरसिज गु्रपका नेपाल शाखा महाप्रबन्धक वाङ यु श्वे र चाइना रेलबे इन्टरनेशनल गु्रपका अर्थशास्त्री याङ क्वाङसहितको टोली सहभागी थियो ।

प्रतिक्रिया दिनुहोस्