श्रमिक ऐन पूर्णरुपमा कार्यान्वयनमा सरोकारवालाहरुको जोड

काठमाडौं २५ श्रावण । सर्वाेच्च अदालतद्वारा जारी निर्देशिकालाई डान्सबार तथा रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरुको हकमा पनि पूर्णरुपमा कार्यान्वयन गर्न सरोकारवालाहरुले जोड दिएका छन् ।

विश्वास नेपालले काठमाडौंमा आज आयोजना गरेको कार्यक्रममा बोल्ने ट्रेड यूनियनका नेता, रेष्टुरेण्ट व्यवसायी तथा अधिकारकर्मीहरुले श्रमिकको अधिकार कार्यान्वयन गर्नु पहिलो जिम्मेवार सरकार र व्यवसायीको भएको बताउँदै सर्वाेच्च अदालतद्वारा जारी निर्देशिका डान्सबार तथा रेष्टुरेण्टमा काम गर्ने श्रमिकहरुको हकमा कार्यान्वयन नभएको गुनासो आएपछि यसलाई पूर्णरुपमा कार्यान्वयन गर्न दवाव दिएका हुन् ।

ट्रेड यूनियन काँग्रेसका सदस्य ध्रुवचन्द्र गौतमले श्रमिक ऐन र सामाजिक सुरक्षाको ऐन दुबै आईसकेको अवस्थामा श्रमिकहरु शोषण हुने अवस्था हेटेको बताए । तर, रेष्टुरेण्ट र डान्स एवं मनोरञ्जन क्षेत्रमा काम गर्नेको हकमा भने नियुक्ति पत्र र करार र स्याथी नियुक्ति पत्र नहुँदा श्रमिक ऐन कार्यान्वयनमा चुनौति आएको बताए । मनोरञ्जन क्षेत्रलाई मर्यादित बनाउन ट्रेड यूनियनसंगै राज्य र व्यवसायीको पनि अहम भूमिका हुने तर्क गरे । राज्यले निर्देशित गरेको आचार संहिता पूर्ण कार्यान्वयन गर्न राज्य, व्यवसायी र श्रमिकबिच गहन छलफल गरि अगाडि बढ्नुपर्ने बताए ।

विश्वास नेपालकी अध्यक्ष तारा भण्डारीले डान्स बार र रेष्टुरेष्टमा काम गर्ने श्रमिकहरुको हक अधिकार स्थापनाको लागि विगत १० वर्षदेखि काम गर्ने दौरानमा व्यवसायी र समाजबाट पनि धेरै अपमान खेप्नु परेको बताइन् । उनले डान्स बार तथा रेष्टुरेण्टमा कार्यरत महिलाहरु यौन हिंसामा पर्ने गरेकोले यसलाई रोक्न राज्य र व्यवसायी दुवै जिम्मेवार हुने बताइन् । व्यवसायलाई मर्यादित ब्यवथित बनाउन व्यवसायी, श्रमिक सेवाग्राही र राज्यको आ–आफ्नै काम, कर्तव्य र अधिकार रहेको बताइन् । सबै श्रमिक पेशागत हिसाबाट मुक्त हुनुपर्नेमा उनले जोड दिंदै श्रम ऐन र सामाजिक सुरक्षा ऐनलाई कार्यान्वयन गर्न व्यवसायीले श्रमिकलाई नियुक्ति पत्र अनिवार्य रुपमा दिनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा ट्रेड युनियका अगुवा देवीप्रसाद गौतम, विनोद कार्कीले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
व्यवसायी रमेश धितालले आफ्नो संस्थामा काम गर्ने श्रमिकलाई आफूले तत्काल नियुक्ति पत्र दिने बताए । अर्का व्यवसायी प्रशान्त तामाङ्गले आफूले नियुक्ति पत्र दिन खोजे पनि क्षणिक रुपमा काम गर्ने श्रमिकले लिन नखोज्न तर्क गरे ।

त्यस्तै अर्का व्यवसायी प्रमोद गौचनले रेष्टुरेष्टमा काम गर्ने श्रमिकको काम गर्ने समय र तलब एकिन नभएको हुँदा नियुक्ति पत्र दिन समस्या भएको र व्यवसाय सञ्चालन गर्न पनि पुलिस प्रशासनको ब्यवहारमा एकरुपता नहुँदा व्यवसाय गर्न कठिन भएको अनुभव सुनाए । कार्यक्रममा विश्वास नेपालका कार्यक्रम संयोजक प्रर्शुराम चौधरीले कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्