पहिरोका कारण १८ घर जोखिममा, एकको ज्यान गयो
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ ।
मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा डेढ वर्षको बालक दीपक तामाङको मुत्यु हुनुका साथै अन्य दुई घाइते भएका थिए ।
पाँच जनाको परिवार बस्दै आएको हेमबहादुर तामाङका कान्छो छोराको सुतिरहेको अवस्थामा पहिरोले पुरिएर मृत्यु भएको हो । दुई महिना अगाडिदेखि त्यहाँ बस्दै आएका उनले राति आएको पानीका कारण माथिबाट पहिरो आएर बस्ने टहरो पुरिएको बताए ।
“समय हेर्नै पाइएन, माथिबाट आएको पहिरोले छोपिहाल्यो, आमा र अरू बच्चा निकाल्न सकिए पनि एउटा बच्चा निकाल्न नसकेर ज्यानै गयो,” बिलौना गर्दै तामाङले भने ।
अर्का स्थानीय बासिन्दा ज्ञानीमाया तामाङले बसिरहेको बेलामा एक्कासि आएको पहिरोले भूकम्पपछि बनाएको घर पनि भत्काएको बताए ।
दोस्रो किस्ता लिएर निर्माणकार्य सम्पन्न हुनै लागेको घर पहिरोले भत्काएपछि फेरि पहिलादेखि बस्दै आएको टहरामा नै जीवन गुजार्नुपर्ने बाध्यता भएको उनले बताए ।
सोही ठाउँका काले तामाङले पहिरोले घर पुरेपछि अब कता जाने र बस्तुभाउलाई कसरी जोगाउने भन्ने चिन्ता सताएको गुनासो गरे । “सुरक्षित ठाउँमा जानु त भनेको छ, तर कहाँ गएर बस्ने र कसरी बस्ने भन्ने अन्योलमा छौँ,” तामाङले भने, “फेरी बाढी आयो भने मान्छे त यताउति जान्छाँ तर बस्तुभाउलाई कता लाने हो बाटो नै छैन ।”
इन्द्रावती नदीको माथि निकै भिरालोमा रहेको उक्त बस्ती निकै जोखिम अवस्थामा रहेको स्थानीय बासिन्दाको भनाइ छ । विकट र भिरालो भू–बनोटका कारण एक घरबाट अर्को घरसम्म पुग्नको लागि धेरै समय लाग्ने भएकाले रातिको समयमा निस्कन समस्या भएको उनीहरूले बताए ।
घटना भएसंगै उद्धारका लागि पुगेको हिगुवापाटी प्रहरी चौकीका हवलदार कृष्ण अधिकारीले बस्ती निकै जोखिममा भएका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । “ त्यहाँ पुग्दा हामीलाई कसले कसरी सहयोग गर्ने हो तपाईंहरूले पहल गरिदिनुपर्यो भनिरहेका छन्,” उनले भने, “माथिबाट भीर र तलबाट नदी बगिरहेका कारण पनि बस्ती भएको सबै ठाउँमा पुगेर स्थलगत अध्ययन गर्न नसक्ने अवस्था छ ।
” त्यहाँ जोखिममा रहेका घरपरिवारमध्ये तत्कालका लागि सात घर बस्ती तलको हल्देटारमा सार्ने र बाँकीलाई माथि रहेको कालिका प्राविमा राख्ने भन्ने विषयमा नगर प्रमुख टोकबहादुर वाइवा र प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसँग कुरा भइरहेको अधिकारीले बताए ।
“एउटै बस्तीको १९ घरपरिवार जोखिममा रहेकाले अहिले उनीहरू त्यहाँ बस्न सक्ने अवस्था छैन, राज्यले दिएको सेवा सुविधा लिएर बल्लबल्ल ऋण गरेर बनाएको घर भत्किसकेको र कतिपयको घर बस्न नमिल्ने भएकाले कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा सोचिरहेका छौँ ।
’’ सोही वडाका वडाध्यक्ष विष्णुमणि नेपालले भने, “विकल्प नभएर त्यस्तै जोखिममा बसिरहेका कतिपय स्थानका पीडितलाई नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको समन्वयमा खाद्यान्न र ओढ्ने वस्तुको ब्यवस्था गरिएको छ ।” पानी अझै आउने सम्भावना भएकाले त्यहाँबाट मान्छे र गाइवस्तुलाई सार्ने विषयमा सोचिरहेको र सबैलाई सुक्षित ठाउँमा जानुपर्छ भनेर अनुरोध गरेको नेपालले बताए ।
मण्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइबाले आज नगरको बैठक बस्ने र नगरस्तरीय विपत् व्यवस्थापन समितिको बैठक बसेर पहिलो चरणमा सम्भावित स्थलकोअध्ययन गर्ने र नगरले गर्न नसक्ने अवस्था देखिए माथिल्लो निकायमा कुरा राख्ने तयारी भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्