एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली हंगेरी प्रस्थान

काठमाडौं। एसियन गेम्सको तयारीका लागि नेपाली राष्ट्रिय जुडो टोली बुधबार हंगेरी प्रस्थान गरेको छ ।

हंगेरीको बुडापेस्टमा शुक्रबारदेखि हुने बुडापेस्ट ग्रा प्री जुडो च्याम्पियनसिप २०१८ मा सहभागी हुन नेपाली खेलाडी तथा प्रशिक्षक बुधबार त्यसतर्फ लागेका हुन् ।

दुईदिने प्रतियोगितामा नेपालका ८ खेलाडी सहभागी हुनेछन् ।

त्यसलगत्तै खेलाडीहरु हंगेरीमै अगस्ट २५ सम्म बन्द प्रशिक्षणमा रहनेछन् । बन्द प्रशिक्षण सकाएर जुडो टोली इन्डोनेसियाको जाकार्ता प्रस्थान गर्नेछ ।

एसियन गेम्समा नेपालका ९ खेलाडीले जुडोमा भाग लिँदैछन् । जसमा फुपूल्हामु खत्री, इन्द्रबहादुर श्रेष्ठ, सन्जित डंगोल, श्रीराम मकाजु, रभिन श्रेष्ठ, देविका खड्का, मनिता श्रेष्ठ प्रधान, पुनम श्रेष्ठ र मोहन बम रहेका छन् ।

नेपाली टोलीको प्रशिक्षण रोमानियन प्रशिक्षक डान टेलार्काले गराइरहेका छन् ।

हंगेरी जानुअघि नेपाली टोलीले अघिल्लो सातामात्रै थाइन्ल्यान्डको बैंककमा एउटा प्रतियोगिता खेलेको थियो ।

त्यसमा नेपाली खेलाडीहरुले दुई स्वर्ण, एक रजत र एक कास्यपदक जितेका थिए ।

एसियाडमा जुडोबाट नेपालले पदकको आशा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्