रेलका लागि बुटवलमा आकाशेपुल बनाइने

काठमाडौं ।   बुटवलको बजार क्षेत्रमा रेल्वे लिग पर्ने भएपछि पूर्वपश्चिम रेलमार्गको लागि फ्लाइओभर (आकाशेपुल) बनाइने भएको छ। रेलमार्गको बुटवल–लमही खण्डअन्तर्गत बुटवलको कालिका नगर क्षेत्रमा आकाशेपुल बनाएर रेल पार गराउने गरी डीपीआरको ड्राफ्ट तयार भइसकेको छ।

यसअघि बस्तीबाटै रेल लैजाने तयारी भएको भन्दै विरोध भएको थियो। स्थानीयहरूले संघर्ष समिति बनाएर रेल बस्ती मासेर लैजान नहुने भन्दै आन्दोलनमै उत्रिएका थिए। सयौं घर मासिने भएपछि रेल विभागले आकाशेपुलको अवधारणा ल्याएको हो।

‘डीपीआरको ड्राफ्ट तयार भएर विभाग बुझाइसकिएको छ’, रेल विभागका सिनियर डिभिजन इन्जिनियर प्रकाशभक्त उपाध्यायले भने, ‘सायद एक÷दुई महिनामै फाइनल रिपोर्ट तयार हुन्छ।’ चिनियाँ कम्पनी सिवानले डीपीआरको काम गरेको छ।

रेलमार्ग बनाउँदा आफूहरूको बस्ती उठ्ने भन्दै बुटवल कालिकानगरका स्थानीय विरोधमा उत्रिएपछि आकाशेपुल बनाएर रेल लैजाने गरी रेलमार्गको डिजाइन गरिएको हो। रेलका लागि कालिकानगरको पूर्वतर्फ जंगलमा स्टेसन बनाइनेछ। स्टेसनबाट कालिकानगर हुँदै तिनाउ पारिसम्म आकाशेपुल बन्नेछ। अढाई किलोमिटर लम्बाइको आकाशेपुलका लागि बीचबीचमा ८ देखि ९ मिटर अग्लो पिल्लर बनाइने छ।

पूर्वदेखि पश्चिमसम्म रेलमार्गको डिजाइन गरेको क्षेत्रमध्ये बुटवलको कालिकानगरमा सबैभन्दा बाक्लो बस्ती परेको छ। बाक्लो बस्ती भएका कारण रेलमार्ग निर्माणका लागि बुटवलमा ठूलै चुनौती देखिएको थियो।

स्थानीयको तीव्र विरोधका कारण अन्य ठाउँमा रेलको विस्तृत इन्जिनियरिङ सर्भे भए पनि बुटवल क्षेत्रमा काम अघि बढ्न सकेको थिएन।

प्रतिक्रिया दिनुहोस्