बुटवल-गड्डाचौकी रेलमार्गको डीपीआर मस्यौदा बन्यो
काठमाडाैं । पूर्व-पश्चिम रेलमार्ग अन्तरत बुटवलदेखि गड्डाचौकीसम्म पश्चिम खण्डको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को मस्यौदा तयार भएको छ । चार खण्डमा विभागजन गरेर दुई चिनियाँ कम्पनीले तयार गरेको डीपीआरको मस्यौदा रेल विभागमा आइपुगेको छ ।
विभागले आवश्यक अध्ययन गरेर यसलाई स्वीकृत गरेपछि डीपीआर फाइनल प्रतिवेदन हुने महानिर्देशक अनन्त आचार्यले जानकारी दिनुभयाे । पूर्वी नेपालमा झण्डै ३० किलोमिटर खण्डमा रेलमार्ग निर्माणको काम भइरहँदा बुटवलबाट गड्डाचौकीसम्मको रेल्वे खण्डको डीपीआर निर्माणको लागि अध्ययन सकिएको हो ।
४२१ किलोमिटरको बुटवल-लमही, लमही-कोहलपुर, कोहलपुर-सुक्खड, सुक्खड-गड्डाचौकी खण्डको प्रतिवेदन आएको हो ।
पश्चिम खण्डको डीपीआर निर्माणको क्रममा पश्चिम खण्डका केही नदीहरुमा बलियो पुलसहितका पूर्वाधार निर्माण गर्नुपर्ने देखिएको छ । कैलालीको शिवगंगा र चौमाला नदी क्षेत्रका डीपीआरका क्रममा ड्रिलिङ गर्दा माथिल्लो सतहमै पानीका ‘पकेट’ क्षेत्रहरु भेटिएका छन् ।
रेल्वे विभागका अनुसार अब ती नदी क्षेत्रमा अन्यत्रको भन्दा पुलसहितका मजबुत पूर्वाधार बनाउनुपर्ने हुन्छ । यो क्षेत्रमा जमिनमुनि ठूलो मात्रामा पानीको स्रोत भेटिएको छ । यसले निर्माणका लागि चुनौती थप्ने विभागका इन्जिनियरहरु बताउँछन् ।
पूर्व-पश्चिम रेलमार्ग निर्माणका लागि अब १६५ किलोमिटरको निजगढ-भरतपुर-चोरमारा खण्डको डीपीआर मात्रै बनाउन बाँकी छ । पूर्वपश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ बाट नै सुरु भएको थियो । तर, रेलमार्ग निर्माणको कार्यले अझै गति लिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्