प्रचारको अन्तिम दिन,मध्यरातबाट मौन अवधि सुरु हुँदै

काठमाडौं। मंसिर २१ हुने दोस्रो चरणको प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि प्रचार प्रसारका लागि आज अन्तिम दिन हो । राजनीतिक दल र विभिन्न उम्मेदवारले आज मध्यरात १२ बजेसम्म प्रचार गर्न पाउने छन् ।मध्यरात १२ बजेपछि मौन अवधि शुरु हुनेछ । मौन अवधिमा राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम, समाजिक सञ्जालसमेतमा पनि प्रचार गर्न पाइने छैन ।

यता, निर्वाचन आयोगले भने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । मौन अवधिमा आचारसंहिता उल्लंघन नगर्न निर्वाचन आयोगले सबैलाई सचेत पनि गराएको छ ।
४५ जिल्लामा हुने निर्वाचनका लागि सम्पूर्ण मतदान केन्द्रमा निर्वाचन सामग्री पुगिसकेका छन् । निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ १ हजार ६ सय ६३ तथा प्रदेश सभातर्फ सातै प्रदेशमा गरी २ हजार ८ सय १९ उम्मेवार प्रतिस्पर्धामा छन् ।

यस चरणमा प्रतिनिधिसभाका लागि १२८ र प्रदेशसभाका लागि २५६ सांसद चुनिने छन् । निर्वाचनमा १ करोड २२ लाख ३५ हजार ९ सय ९३ मतदाताले भाग लिदैंछन् ।

युरोपेली युनियन, कार्टर सेन्टरलगायतका अन्तर्राष्ट्रिय संस्थाका ४ सय पर्यवेक्षक तथा राष्ट्रियरुपमा ५२ संस्थाका ४५ हजार पर्यवेक्षकले अनुमति लिएका छन् । १५ हजार ३ सय ४४ मतदान केन्द्रमा ७ देखि ९ जनाको दरले १ लाख ७५ हजार कर्मचारी आयोगले खटाएको छ ।

सरकारले भने निर्वाचनका समयमा गम्भीर सुरक्षा खतरा देखिएमा कडा कारवाही गर्न सुरक्षाकर्मीलाई अख्तियारी दिएको छ । एकपछि अर्को गर्दै लगातार बम विष्फोट र आक्रमणका घटना नरोकिएपछि सरकार कडा ढंगले पेश भएको हो ।

निर्वाचनविरोधी गतिविधिमा संलग्न हुनेविरुद्ध आवश्यक पर्दा गोलीसमेत हान्ने अधिकार दिइएको गृहसचिव मोहनकृष्ण सापकोटाले प्रष्ट गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्