निशान हत्या प्रकरणः प्रहरी इन्काउण्टरमा दुई जना अपहरणकारीको मृत्यु, ग्राहक नै उपहरणकारी

काठमाडौं, २१ श्रावण । आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको खोजीमा जुटेको प्रहरी र अपहरणकारीबीच मुठभेड हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले डोलेश्वरमा अपहरणकारीमाथि गोली चलाउँदा अजय तामाङ र गोपाल तामाङको मृत्यु भएको हो । भक्तपुरस्थित डोलेश्वरको जंगलमा दोहोरो भिडन्तमा पर्दा उनीहरुको मृत्यु भएको महानगरीय आयुक्तको कार्यालयका प्रमुख डिआईजी मनोज न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार घटनास्थलबाट एउटा पेस्तोल, दुई राउण्ड गोली र बालकको परिवारलाई धम्क्याउन प्रयोग भएको मोबाइल बरामद भएको छ ।

यसैबीच, अपहरित ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका थिए ।

हत्या भएका बालक निशानकी आमा चमेली काँडाघारीमा खाजा पसल चलाउँथिन् । सिन्धुपाल्चोक, ज्यामिरे घर भएका उनका श्रीमान गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा अध्ययनरत थिए ।

निशान आइतबार अपराहृन अपहरणमा परेका थिए । चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी पछिल्ला केही वर्षदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

आइतबार पनि उनी वियर खाएर निस्किएका थिए । मोबाइल पसलमा छाडेर हिँडेका निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको चमेलीले जानकारी दिएकी छन् ।

उनीहरले प्रहरीलाई खबर गरे । प्रहरीले तत्काल खोजी थाल्यो तर, निशान भेटिएनन् । सोमबार मध्याहृनतिर ठिमी नगरपालिका ९ स्थित एक निर्माणधीन घरमा निशानको शव भेटिएको थियो।

घरको जगमा उठाइएको वालसँगै रहेको हिलाम्मे खाल्डोमा मृत भेटिएका बालकको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार बालकको राति नै हत्या गरिएको आशंका गरिएको छ ।

अपहरणकारी पाइलट बाबा जंगलतर्फ भागेको सूचनाका आधारमा गएको प्रहरीसँग मुठभेड हुँदा नुवाकोटका गोपाल र सिन्धुपाल्चोकका अजय तामाङ मारिएका छन् । गोपाल चमेलीको खाजा घरमा नियमित आउँथे र खाना तथा खाजा खाने गरेका थिए । तर, जसलाई उनले वर्षौ खाना खुवाइन्, उनले नै निशानको ज्यान लिए ।

प्रतिक्रिया दिनुहोस्