ढुक्क भएर मतदान आग्रह

काठमाडौं ।मंसिर– प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण रुपमा सम्पन्न हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई विरोध गर्दै विस्फोटका घटनाहरु गराइका बेला उनले सुरक्षा व्यवस्था सुदृढ रहेको बताए ।

‘निर्वाचन आयोग सरकारले तायर पारेको सुरक्षा योजनाप्रति पूर्ण विश्वस्त छ,’आइतबार पत्रकार सम्मेलनमा उनले भने ‘सरकारले राम्रो सुरक्षा व्यवस्था मिलाएको छ ।अप्ठ्याराकाबीच पहिलो चरणको निर्वाचन शान्तिपूर्ण भएको उल्लेख गर्दै दोस्रो चरणका लागि पनि ढुक्क रहन आग्रह गरे ।
उनले आममतदाता र राजनीतिक दलहरुको सहयोगले पहिलो चरणको निर्वाचन उत्साजहजनक र शान्तिपूर्ण भएको भन्दै दोस्रो चरणमा पनि त्यस्तै अपेक्षा रहेको बताए । उनले आममतदाता सुरक्षित रहेको र मतदान शान्तिपूर्ण हुनेमा आयोग ढुक्क रहेको जनाए ।
उनले निर्वाचन आचारसंहिताको पालना विगतको भन्दा राम्रो रहेको दाबी समेत गरे । पछिल्लो समय आचारसंहिताप्रति दलहरु पनि सजग रहेको पाइएको उनले उल्लेख गर्दै उल्लंघन गरिएका स्थानमा आयोगले ध्यानाकर्षण गरेको र कारबाही समेत गरेको बताए ।
‘जिल्ला जिल्लमा मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीले तुल ब्यानर हटाउन लगाएका छन्,’ उनले भने ‘सोमबार मध्यरातिदेखि मौन अवधि सुरु हुने भएकाले उम्मेदवारहरुले स्वयं आफ्ना तुल, ब्यानर र पोस्टर हटाउनुपर्छ ।’
उनले मौन अवधिमा कुनै प्रकारको प्रचार प्रसार नगर्न र मतदातालाई किनबेचको साधन नबनाउन समेत आग्रह गरे । ‘मतदाता सजग र सतर्क छन्, मतदाताको अवमूल्यन कोही कसैले नगरौं,’ उनले भने ‘मौन अवधिमा मतदातालाई प्रभाव पार्ने कसैबाट कुनै प्रकारको काम नहोस् ।’ उनले स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन नै आचारसंहिता पालनाको प्रमुख इण्डिकेटर रहेको बताए ।

अपर्याप्त समयका कारण मतदाता शिक्षा कम भएको देखिए पनि त्यसका लागि अधिकतम प्रयास गरिएको भन्दै उनले ५ प्रतिशतभन्दा कम मात्र बदर मत हुने आयोगले विश्वास लिएको बताए । आजको कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्