फर्कियो नेपाली टिम उत्साहसहित, पारस भन्छन्- एसिया कप अर्को ठूलो अवसर
काठमाडौं । पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा सफलता हासिल गर्दै नेपाली राष्ट्रिय क्रिकेट टोली सोमबार बिहान नेपाल फर्किएको छ । नेपाली टिम सोमबार बिहान जेट एयरवेजमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको हो ।
नेदरल्याण्ड्समाथि दोस्रो तथा अन्तिम खेलमा एक रनको सनसनीपूर्ण जित हासिल गरेसंगै नेपालले कीर्तिमानी जित हात पारेको थियो ।
साढे ४ महिनाअघि एक दिवसीयको मान्यता पाएको नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्ड्ससंग ५५ रनको हार बेहोरे पनि दोस्रो खेलमा भने फर्ममा फर्किएको हो ।
विश्वकप नै खेलिसकेको टिमलाई हराउन सजिलो नभए पनि नेपालले नेदरल्याण्ड्सलाई उसकै भूमिमा हराएर नयाँ अध्याय थालेको छ ।
विमानस्थलमा संचारकर्मीलाई प्रतिक्रिया दिँदै कप्तान पारस खड्काले राम्रो उपलब्धि हासिल गरेको प्रतिक्रिया दिएका छन् । उनले जतिसक्यो खेलहरु खेल्ने र त्यसले उत्साह बढाउने बताए ।
पारसले अन्तिम खेलमा १ रनको जित हासिल गर्दाको क्षणबारे भने, ‘देशका लागि खेल्दा सधै दबाबमा भइन्छ ।’
उनले अब एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्नुपर्ने र आगामी दिन झन् चुनौतीपूर्ण भएको बताए । उनले एसिया कपमा छनोट हुन सके भारत र पाकिस्तानसंग खेल्न पाइने भएकाले थप मेहनत गर्नुपर्ने बताए ।
पारसले नेपाली क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरे। उनले भने, ‘हामीसामु एसिया कपको अर्को ठूलो अवसर छ।’
एसिसी एसिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ सम्म मलेसियामा हुँदैछ।
नेपालले चार वर्षको मान्यता पाएको छ एक दिवसीयका लागि । यसको भरपूर प्रयोग गर्नुपर्ने खेलाडीहरुले बताएका छन् । उनीहरुले क्रिकेट बोर्ड सशक्त हुनुपर्नेमा जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्