कुन-कुन क्षेत्र र नदी आसपास बाढीको जोखिम? यी हुन् सतर्क रहन तोकिएका स्थान
काठमाडौँ । देशभरको मौसम बदली भइ धेरै ठाउँमा पानी परिरहेकाले सोमबार विभिन्न ठाउँमा बाढी आउने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँमा भारी तथा अधिकांश ठाउँमा मध्यम वर्षाको सम्भावना रहेकाले खोला तथा नदीमा पानीको बहाब बढ्ने देखिएको छ ।
कन्काई, कमला, बागमतीसहितका नदीमा पानीको बहाब दिउँसोसम्म सतर्कताको आसपास पुग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै दाङ, बाँके, बर्दिया, कैलाली, सुर्खेत, झापा, मोरङ्ग, सुनसरी, सिन्धुलीसहितका जिल्लामा नदी तथा चुरे आसपासका बासिन्दा सचेत हुनु पर्नेछ ।
देशका सबै नदीमा बिहानको मापन अनुसार पानीको सतहल सतर्कता तह भन्दा तल रहेको तर बढ्ने क्रममा जारी रहेकाले सचेत हुनु पर्ने देखिएको हो । यस्तै लगातारको वर्षाका कारण काठमाडौँ, ललितपुर तथा भक्तपुरका अधिकांश नदी, खोला तथा नालीहरुमा पानीको बहाब उच्च रहेको छ ।
सोमबार देशका प्रमुख नदीहरु कन्काई, सप्तकोशी र यसका शाखा नदीहरु, कमला, नारायणी तथा यसका शाखा नदीहरु, पश्चिम राप्ति, बबई, कर्णाली तथा यसका शाखा नदीहरु र महाकाली लगायका नदीमा बहाब बढ्ने देखिएको छ । यस्तै पहाडी क्षेत्रका खहरे खोलामा एक्कासी बाढी आउने सम्भावना रहेकाले सचेत हुन आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्