गंगामायाका छोरा नुरप्रसाद भेटिए, आमालाई बुझाउने तयारी
काठमाडौं । गोरखा फुजेलकी गंगामाया अधिकारीका छोरा नुरप्रसादलाई नियन्त्रणमा लिएको छ । गंगामायाकै आग्रहमा प्रहरीले उनको खोजी गरेको हो ।
हालै मात्र अनसन तोड्ने क्रममा अधिकारीले मानवअधिकार आयोगसमक्ष आफ्नो छोराको खोजी गरिदिन आग्रह गरेकी थिइन् ।
त्यसअनुसार अपराध महाशाखाको टोलीले नुरप्रसादलाई आइतबार मध्याहृन सानेपाबाट नियन्त्रणमा लिएको हो । प्रक्रिया पुरा गरेर उनलाई बुझाइने महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले अनलाइनखबरलाई जानकारी दिए ।
कान्छो छोरा कृष्णप्रसादको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै नन्दप्रसाद र गंगामाया अनसन बसेपछि नुरप्रसाद वेपत्ता भएका थिए ।
अनसनकै क्रममा नन्दप्रसादको निधन भयो । तर, उनी आमाको सम्पर्कमा थिएनन् ।
यसैबीच, गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शनिबारबाट शुरु भएको छ ।
जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु भएको अदालतका स्रेस्तेदार गहेन्द्र पन्तले जानकारी दिए ।
कृष्णप्रसादको विसं २०६१ जेठ २४ मा अपहरणपछि हत्या भएको थियो ।
प्रतिक्रिया दिनुहोस्