नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध, यात्रु जोखिममा
काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । राति सवा १० बजेतिर भरतपुर महानगरपालिका २ को घुमाउने भन्ने ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
पहिरो खसिरहेकाले रातको समयमा सफा गर्न नसकिएको भए पनि बिहानबाट पहिरो पन्छाउने काम सुरु भएको जनाइएको छ । सो ठाउँमा केही दिनयता ढुंगा खस्ने समस्या आएको छ ।
सोही ठाउँमा शनिबर पहिरो खसेर चार घण्टा सडक अवरुद्ध भएको थियो । सडकको जलबिरेमा पनि पहिरो खसेपछि शनिबार सडक अवरुद्ध बनेको थियो ।
बिगत तीन दिनदेखि परेको वर्षाका कारण ठाउँठाउँमा पहिरो खसेपछि यात्रुले दुःख पाएका छन् ।
अस्तिदेखि नै यो ठाउँमा पहिरो खसिरहेको छ । पहिरो हटाउँदै गाडी चलाउँदा यात्रु भने जोखिममा परेका छन् । यो सडकखण्डमा गाडी चलाउँदा सावधानी अपनाउन नारायणगढ–मुग्लिन सडक आयोजनाले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्