गौचन हत्याका प्रमुख योजनाकार बस्नेत पक्राउ

काठमाडौँ । निर्माण व्यवसायी शरदकुमार गौचन हत्याका प्रमुख योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्नेत पक्राउ परेका छन् । गत असोज २३ गते राजधानीको शान्तिनगरस्थित प्रयागचोकमा गौचनको गोली हानी हत्या भएको थियो ।
गौचन हत्याकाण्डका मुख्य आरोपी भनिएका बस्नेतलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको बैग्लोरबाट पक्राउ गरेको हो । प्रहरी उच्च स्रोतका अनुसार सिआईबीका डिआईजी पुष्कर कार्कीले खटाएको एक प्रहरी टोलीले उनलाई बैग्लोरबाट पक्राउ गरेर नेपाल ल्याएको हो । सो टोली २ महिनादेखि भारतमा रहेको थियो ।
प्रहरीले ०७३ साल पौष ४ गते युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या गरेको र चैत्र २९ गते गौरीघाटमा दावा लामालाई गोली हानी घाइते बनाउने मुख्य योजनाकार बस्नेत नै रहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको बाफल स्थायी घर भएका बस्न्यातले साढे २ वर्ष देखि नेपाल बाहिर बसी विभिन्न अपराधिक कार्यहरु गर्दै आएको विरगञ्ज देखि विराटनगर जोड्ने हुलाकी मार्गको ढेक्का कमिसन वापत दुई प्रतिशत माग गरेको रकममा गौचनले वेवास्था गरेको कारण हत्या गरेको प्रहरीले जनाएको छ ।
गजुरमुखी कन्स्ट्रक्सनका मुख्य लगानीकर्ता मृतक कुमार घैटेमार्फत २ करोड ५० लाख समेत डाँफे कन्स्ट्रक्सनको शेयर रकम बापत गौचनसँग लिई सकेको प्रहरीले जनाएको छ ।

उक्त रकममा १ करोड बस्न्यातको भएको र घैटेको मुत्युपछि उक्त रकम फिर्ता गर्न भनेपछि बस्नेत र गौचनको विवाद उत्कर्षमा पुगेको समेत जनाएको छ ।
हाल उक्त हत्या काण्डमा बस्नेत सहित ८ जना पक्राउ परिसकेको छ भने ७ जना अझै फरार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्