प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठन गरिने
काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभामा आज विषयगत समिति गठनको तयारी छ । बिहान साढे ११ बजेपछि बस्ने राष्ट्रियसभाको बैठकमा विषयगत समिति गठनको तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ ।
गएको जेठ २७ गते राष्ट्रियसभा नियमावली पारित भएपछि समिति गठनको लागि नाम दिन सबै दललाई आग्रह गरे पनि नेपाली कांग्रेसले नाम नदिँदा समिति गठनमा ढिलाई भएको सचिवालयले जनाएको छ ।
यस्तै दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा पनि विषयगत समिति गठनको तयारी छ । आजको बैठकमा सभामुख कृष्णबहादुर महराले विषयगत समितिमा रहने सदस्यको नाम मनोनयनको लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
प्रतिनिधिसभाको बैठकमा बिमा विधेयकमाथि छलफल तथा अन्तराष्ट्रिय आतंकवाद, अन्तरदेशिय संगठित अपराध र अवैध लागू औषध कारोबार विरुद्ध सहयोगसम्बन्धी बिमस्टेक महासन्धी प्रस्तुत गर्ने कार्यसूची छ ।
यसअघि हिजोको दुवै सदनको बैठक पूर्वसांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित भएको थियो ।
प्रतिक्रिया दिनुहोस्