नेपाल डेब्यू खेलमै नेदरल्याण्ड्ससँग ५५ रनले पराजित

काठमाडौं । नेपाल पहिलो एक दिवसीय क्रिकेट प्रतियोगितामा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको छ ।

नेदरल्याण्ड्सले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले डेब्यू खेलमै पराजय व्यहोरेको हो ।

नेपालका लागि उपकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेल्दै उत्कृष्ट शुरुआत गरेका थिए ।

पहिलो विकेटका लागि उपकप्तान मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए ।

अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो । बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो ।

दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए । थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए ।

आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन् ।

बसन्त रेग्मी पनि शून्य रनमा आउट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए । उनी पनि व्यक्तिगत ३३ रनमा आउट भएपछि नेपाल संकटमा प¥यो ।

त्यसपछि शक्ति गौचनले नटआउट ९ रन बनाउँदा सरद भेषवारक ४ र सन्दिप लामिछाने १ रनमा आउट भए ।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्ड्सका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३-३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्ले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए ।

यस्तै, बास डी लिडले ३०, स्टेफेन माईवर्गले २९, बेन कुपरले २०, स्कोट एडवार्डले १८ रन जोड्दा फ्रेड क्लासेनले ११ रनमा आउट भएका थिए ।

नेपालका कप्तान पारस खड्काले किफायती र उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए ।

यस्तै सोमपाल कामीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक/एक विकेट लिए । नेपालले अर्को खेल नेदरल्यान्ड्ससँगै भोलि खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्