आजबाट बन्द भयो विराटनगरको भारतीय फिल्ड अफिस

काठमाडौं । बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको भारतीय फिल्ड अफिस’ आजदेखि बन्द गरेको छ ।

भारतले १० वर्षअघि नेपाल सो कार्यालय स्थापना गरेको थियो । नेपल सरकारले पटक पटक कार्यलय हटाउन आग्रह गरेको थियो ।

काठमाडौंस्थित भारतीय दूतावासले विज्ञप्ति जारी गरेर अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूताबासबाटै हुने स्पष्ट गरेको छ ।

सरकारले फिल्ड अफिस हट्नुलाई आफनो ठूलो उपलब्धीमध्ये एक मानेको छ ।

सप्तकोशीको बाँध फुटेपछि त्यसैको बाहनामा ०६५ भदौ ४ गते भारतले विराटनगमा क्याम्प अफिस स्थापना गरेको थियो ।

नेपाली गाडीले भारतीय बाटो प्रयोग गर्नुपर्ने भएकाले रुट परमिटका लागि भन्दै सो कार्यालय खोलिएको थियो ।

तर, कोशी पुल सुचारु भएको एक दशक बित्न लाग्दा पनि भारतीय कार्यालय बन्द भएको थिएन ।  नेपालमा एमाले र माओवादी मिलेर शक्तिशाली सरकार बनेपछि भारत आफ्नो फिल्ड अफिस हटाउन तयार भएको थियो ।

यस अघि भारतीय विदेश मन्त्रालयले जेठ ८ गते विराटनगरमा रहेको एउटा विवादित अफिस बन्द हुने जनाएका थिए ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा नेपाल सरकारलाई यसबारेमा जानकारी दिएको बताएका थिए ।

प्रवक्ताले भनेका थिए ‘कोशी नदीमा आएको बाढीपछि उत्पन्न परिस्थितिको सामना गर्न सन् २००८ मा भारतीय दूतावासको क्याम्प अफिस खोलिएको थियो ।

जुन उद्देश्यका साथ सो क्याम्प अफिस खोलिएको थियो, त्यो पूरा भएको छ । भारत सरकारले उक्त क्याम्प बन्द गर्ने र त्यहाँको कर्मचारीलाई स्थानान्तरण गर्ने जानकारी दिइसकेको छ ।

यो निर्णय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणको क्रममा आफ्ना समकक्षीलाई सुनाएका थिए । नेपालका प्रधानमन्त्रीले यो निर्णयप्रति प्रधानमन्त्री मोदीलाई धन्यवाद दिनुभएको छ ।’

भारतीय प्रधामन्त्री मोदीले २८ र २९ वैशाखमा नेपालको भ्रमण गरिसकेपछि फिल्ड कार्यालयको उद्देश्य पूरा भइसकेकाले हटाउन निर्देशन दिएका थिए ।

फिल्ड अफिसले संवेदनशिल सूचना संकलन गरेर काठमाडौंस्थित भारतीय दूतावासमा पठाउने गरेको आरोप लाग्ने गरेको थियो ।

नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री भएको बेला उनले फिल्ड अफिस बन्द गर्न पत्र काटेका थिए ।

सो कार्यलय अगाडि अज्ञात समूहले बम विस्फोट गराएको थियो । घटनामा विप्लवको पार्टीको हात रहेको आंशका गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्