स्वावलम्बन बैंकको ३१.५७ प्रतिशत लाभांश पारित

काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंक लि.को १६ औं वार्षिक साधारण सभा काठमाडौंमा सम्पन्न भयो । संचालक समितिका अध्यक्ष श्री बिजेन्द्र सुवालको अध्यक्षतामा बसेको सभाले सेयरधनीलाई २० प्रतिशत बोनस र ११.५७ प्रतिशत नगद गरी ३१.५७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

बैंकले आर्थिक वर्ष २०७३/७४ मा रु.२६ करोड ४१ लाख ११ हजार ९ सय ३४ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । साधारण सभाले आ.व. २०७३/७४ को वासलात, नाफा–नोक्सान हिसाव लगायत अन्य वित्तीय विवरण समेत पारित गरेको छ ।

चालु आ.व.को कार्तिक मसान्तसम्म ५४ जिल्लाका १२३ शाखा/उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख १८ हजार ३ सय ८२ महिला ग्राहक सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । सो अवधिमा बैंकको लगानीमा रहिरहेको कर्जा रकम रु.८ अर्व २५ करोड ५७ लाख ५६ हजार पुगेको छ ।

राष्ट्रिय स्तरको लघुवित्त विकास बैंकका रुपमा कारोवार गरिरहेको र वित्तीय पहुँच कम रहेका देशका विभिन्न हिमाली तथा पहाडी ग्रामीण क्षेत्रमा कार्यक्षेत्र विस्तारको योजना साथ अगाडि बढेको बैंकको अधिकृत पूँजी १ अर्ब रुपैयाँ छ । साथै, यसै साधारण सभाले जारी तथा चुक्ता पूँजी रु.५० करोड ३१ लाख १० हजार ७ सय कायम गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्