आचारसंहिता विपरित १३० वटा संचारमाध्यमबाट २५२ सामग्री सम्प्रेषण

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा आचारसंहिता प्रतिकूल २५२ सामग्री सम्प्रेषण भएको पाइएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, २०७४ का क्रममा पत्रकार तथा निर्वाचन आचारसंहित पालनाका सम्बन्धमा गत कात्तिक २६ गतेदेखि मंसिर १५ गतेसम्म गरेको विशेष अनुगमनको प्रारम्भिक प्रतिवेदनअनुसार ती सामग्री सम्पे्रषण भएको पाइएको हो ।

“पत्रपत्रिका, रेडियो, टिभी र अनलाइन गरी १३० वटा आमसञ्चारमाध्यमबाट यस्ता सामग्री सम्प्रेषण भएको पाइएको छ, जसअनुसार ६२ छापाबाट ९८, ३१ वटा रेडियोबाट ५३, १९ वटा टिभीबाट ४९ र १८ अनलाइनबाट ५२ सामग्री सम्प्रेषण भएका छन्”– काउन्सिलद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

मौनअवधि शुरू हुनुअघि र मौन अवधि शुरू भई मतदान कार्य सम्पन्न नहुञ्जेलसम्म दुई चरणमा आमसञ्चारमाध्यमले सम्प्रेषण गर्ने समाचार तथा समाचार सामग्रीको अनुगमन गरिएको थियो ।

त्यसक्रममा ती सञ्चारमाध्यमले पत्रकार तथा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल तथा उम्मेदवारका चुनावी कार्यक्रम प्रचारप्रसार गरेको, प्रत्यक्ष प्रसारण गरेको, निर्वाचन आचारसंहितामा तोकिएको आकार र समयभन्दा बढी आकार र समयमा सःशुल्क जनाउ नदिइ विज्ञापन सम्प्रेषण गरेको पाइएको काउन्सिलले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्