नेपालको जलविद्युत्‌मा लगानी गर्न इजारायली लगानीकर्ता इच्छुक

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि इजरायली राजदूत बेन्नी ओमेरबीच भेटवार्ता भएको छ। ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा छलफल भएको छ।

भेटमा ऊर्जामन्त्री पुनले नेपालमा इजरायली लगानीकर्ताको ऊर्जा क्षेत्रमा लगानी भित्र्याउने वातावरण बनाइदिन राजदूत ओमेरसँग आग्रह गरेका छन्।

मन्त्री पुनले भने, ‘हामीलाई १० वर्षमा १० हजार मेगावाट बिजुलीको आवश्यकता छ। अहिले लगानीको राम्रो वातावरण समेत छ। तपाईं मार्फत नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म इजरायली लगानीकर्तालाई आग्रह गर्छु।’

पुनले इजरायलसँग लामो कूटनीतिक सम्बन्ध रहेको भन्दै आगामी दिनमा समेत सम्बन्ध मजबूत बन्ने विश्वास व्यक्त गरे।

दुई देशको बीचमा कृषि र प्रविधिका साथै अन्य विभिन्न क्षेत्रमा सहयोग र सहकार्य रहँदै आएको भन्दै मन्त्री पुनले राजदूत ओमेरलाई आगामी दिनमा ऊर्जा क्षेत्रमा सहकार्य गर्न नेपाल सरकार इच्छुक रहेको बताए।

मन्त्री पुनले इजरायल नेपाली कामदारका लागि सुरक्षित गन्तव्य रहेकाका आगामी दिनमा पनि थप सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

इजरायली राजदूत ओमेरले ऊर्जा र सिँचाइ क्षेत्रमा सहकार्य गर्न इजरायल सरकार पनि यार रहेको जनाएका थिए। उनले ऊर्जामा लगानीका लागि इजरायलले पार्टनर खोजिरहेको भन्दै त्यसका लागि सरकारलाई सहयोग गर्न आफूहरु तयार रहेको धारणा राखे।

‘नेपालको जलविद्युतमा लगानी गर्न इजरायलबाट निजी क्षेत्र आउन तयार छ, त्यसका लागि हामी पार्टनर पनि खोजिरहेका छौं,’ राजदूत ओमेरले भने। उनले ‘बुट मोडल’ अर्थात् निर्माण, सञ्चालन र हस्तान्तरण प्रणाली अन्तर्गत काम गर्न इजरायल इच्छुक रहेको जनाए।

नेपाल इजरायलको पुरानो साथी भएको भन्दै राजदूत ओमेरले आगामी दिनमा समेत नेपाल र इजरायलबीच द्विपक्षीय सम्बन्ध मजबुत बन्ने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्