पुनर्निर्माण प्राधिकरण ३ हप्तादेखि सीईओविहीन, सबै मुख्य काम ठप्प

काठमाडौं । तीन सातादेखि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण नेतृत्वविहीन हुँदा प्राधिकरणले गर्नुपर्ने मुख्य तथा महत्वपूर्ण कामहरू प्रभावित बनेका छन् । प्राधिकरणमा उपप्रमुख वा कार्यवाहकको भूमिकामा काम गर्ने अर्को पदाधिकारी नहुँदा गत असार २४ गतेदेखि प्राधिकरणका मुख्य कामहरू अघि बढ्न सकेका छैनन् ।

सरकारले अघिल्लो वर्ष भदौ १४ गतेदेखि फागुन २ गतेसम्म अघिल्लो सरकारले गरेको नियुक्तिको खारेज गर्ने निर्णयपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट पूर्वकार्यकारी अधिकृत युवराज भुसाल गत असार २४ गतेबाट बिदा भएका थिए ।

उनी गएपछि नेतृत्वहीन भएको प्राधिकरणमा यो बीचमा सरकारले नयाँ नियुक्ति गरेको छैन । देशभरका झन्डै ९ लाख भूकम्प प्रभावितको क्षेत्रमा काम गर्ने महत्वपूर्ण निकाय प्रमुखविहीन हुँदा धेरै काममा अवरोध सिर्जना भएको छ ।

यसैबचि प्राधिकरण सीईओविहीन भएपछि गाउँगाउँमा गएर काम गरिरहेका करारका इन्जिनियरदेखि केन्द्रमा रहेका अस्थायी कर्मचारीको समेत नवीकरण हुन सकेको छैन । यसले गर्दा उनीहरूको काममा समेत त्यसको असर परिरहेको छ ।

सरकारले असार मसान्तसम्म दोस्रो किस्ताको रकम लिइसक्नुपर्ने प्रावधान राखेको थियो । यसको म्याद थप्ने कि के गर्ने भन्ने अन्योल रहेको छ । यसबारे कुनै नयाँ निर्णय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्