आज पनि हुन सकेन प्रधानन्यायाधीशको अनुमोदन, १६ गतेसम्मका लागि बैठक स्थगित
काठमाडौँ । सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको प्रधानन्यायाधीशमा गरिएको सिफारिश आज पनि अनुमोदन हुन सकेन । आगामी साउन १६ गतेसम्मको लागि संसदीय विशेष सुनुवाई समितिको बैठक स्थगित भएको छ ।
निर्णयको लागि छलफलको क्रम नसकिएको भन्दै बैठक साउन १६ गतेसम्मको लागि स्थगित गरिएको हो । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णले जोशीबारे सुनुवाई भएपनि छलफलको क्रम नसकिएकाले १६ गतेसम्मको लागि बैठक स्थगित गरिएको जानकारी दिए ।
जोशीको फरक–फरक शैक्षिक प्रमाणपत्रमा एउटै सिम्बोल नम्बर भएको, भ्रष्टचारसम्बन्धी फैसलालगायत विषयमा जोशीले सांसदलाई चित बुझ्दो जवाफ नदिएको र धेरै प्रश्नको जवाफ नै नदिएको भन्दै समितिका सदस्यहरु असन्तुष्ट छन् ।
भावी प्रधानन्यायाधीश जोशीको गत बिहीबार सुनुवाइ भएको थियो । तर, उनी विवादमा तानिएकाले प्रधानन्यायाधीश बनाउने या नबनाउने भन्नेमा अन्योलता उत्पन्न भएको छ ।
यही कारण समितिको बैठक आइतबार पनि स्थगित भएको थियो ।
संवैधानिक परिषद्को सिफारिशमा संसदीय सुनुवाइले भावी प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ ।
पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले गत चैत १ गते राजीनामा दिएपछि जोशी कामु प्रधानन्यायाधीशका रूपमा काम गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्