नेपाल र नेदरल्याण्ड्सबीचको खेल वर्षाले रद्द, दुबै टोली संयुक्त विजेता

काठमाडौं । बेलायतको लर्ड्स क्रिकेट मैदानमा सम्पन्न त्रिकोणात्मक ट्वेन्टी ट्वेन्टी क्रिकेट शृङ्खलामा नेपाल र नेदरल्याण्ड्स संयुक्त विजेता बनेका छन् ।

नेपाल र नेदरल्याण्ड्स दुबै टोलीले आयोजक मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी)लाई हराएका थिए ।

तर यी दुई टोलीबीचको निर्णायक खेल वर्षाले अवरुद्ध भएपछि दुबै टोलीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।

लन्डनमा गएराति लगातार वर्षा भएपछि म्याच अम्पायरले खेल रद्द गरेका हुन् । त्यसअघि नेपालले आयोजक एम.सी.सी.माथि ९ विकेटको सानदार जित निकालेको थियो ।

नेपाल र नेदरल्यान्ड्सबीचको टी–ट्वेन्टी अन्तराष्ट्रिय खेल दोस्रोपटक वर्षाले रोकिएको थियो ।

हिजो अवरुद्ध भएको यही खेलबाट नेपालले तीन वर्षपछि टी–ट्वेन्टी अन्तराष्ट्रिय क्रिकेटमा पुनरागमन गरेको थियो ।

सन् २०१५ को जुलाईमा पपुवा न्युगिनीसँग आयरल्याण्डमा खेलेपछि नेपालले टी–ट्वेन्टी अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थिएन ।

अब नेपाल ऐतिहासिक एक दिवसीय शृङ्खला खेल्न नेदरल्यान्ड्स प्रस्थान गर्नेछ । नेपाल र नेदरल्यान्ड्सबीचको दुई खेलको शृङ्खला यही बुधबार सुरु हुनेछ ।

इङ्ल्यान्डको लर्ड्स मैदानमा हिजो भएको पहिलो खेलमा भने नेपालले मेरेलीबोन क्रिकेट क्लव (एम.सी.सी.)लाई ९ विकेटले हरायो ।

ट्वेन्टी ट्वेन्टी खेल हुनुपर्ने भए पनि वर्षाले ६ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले ४ विकेटको क्षतिमा ४० रनमात्र बनाउन सक्यो ।

कप्तान माहेला जयबर्दनेले १६ बलमा अविजित २४ रन बनाएबाहेक कसैले पनि दोहोरो अंक जोड्न सकेनन् ।

सोमपाल कामीले ८ रन खर्चेर २ विकेट लिँदा शक्ति गौचनले १ विकेट झारे । एक खेलाडी रनआउट भए ।

जवाफमा नेपालले ४ ओभर ४ बलमै १ विकेटको क्षतिमा विजयी लक्ष्य पूरा गर्‍यो ।

सुवास खकुरेलले १५ बलमा अविजित रहँदै १६ तथा ज्ञानेन्द्र मल्लले ४ बलमा अविजित रहँदै १२ रन बनाए । अनिलकुमार शाह ९ रनमा आउट भए ।

प्रतिक्रिया दिनुहोस्